काठमाडौं, मंसिर १३ – नेपाल राष्ट्र बैंकले ५०० डलरसम्मको अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्ने तयारी गरेको छ । शनिबार जारी फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।
राष्ट्र बैंकले केही महिना अगाडी मात्रै युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले विदेशमा जाने नेपाली ट्राभलहरुलाई पासपोर्टका आधारमा १५ सय डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ।
५ सय डलरसम्मको अकाउन्ट खोल्न दिने विषयमा छलफल भइरहेको अधिकारीले बताए । ‘पाँचसय डलरसम्मको सुविधा भएमा कुनै पनि सामान, सेवा वा सब्सक्रिप्सन खरिद गर्न सकिन्छ’ उनले भने ।
उनले अगाडी थपे, ‘अहिले हामीसँग १४ महिना भन्दा बढिको बस्तु आयात गर्न सक्ने विदेशी मुद्रा सञ्चित अवस्थामा रहेको छ । अन्तराष्ट्रिय भुक्तानी खुल्ला गर्दा हाम्रो सञ्चित घट्ने अवस्था पनि आउदैन् ।’
‘विजनेस बढ्ने हो, एक्टिभिटी बढ्ने हो, सहजता बढ्ने हो । त्यसले हाम्रो पोजिसनलाई असर गर्दैंन,’ अधिकारिले भने, ‘जुन कुरो संसारभरि भइसकेको छ त्यसलाई हामीले रोकेर राख्नु हुदैन भन्ने मान्यताका साथ हामी काम गरिरहेका छौं । त्यति हो प्रक्रिया पुर्याउनु पर्ने छ र अध्ययन पुरा हुनुपर्ने छ ।’
FACEBOOK COMMENTS