काठमाण्डौँ – माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरणले आयोजनाको कूल २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना सार्वजनिक गरेको छ ।
इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्नेछन् ।
कोशी राजमार्गको विराटनगर–किमाथाङ्का सडकअन्तर्गत गोला र बरुण बजारबीचमा पर्ने छङ्ग्रानबाट आयोजनाको बाँधस्थल चेपुवा नजिकसम्मको पहुँच सडक निर्माण र दुई वटा पक्की पुल निर्माण गर्नुपर्ने कार्यादेश छ ।
सरकारले चीनसँगको नाका जोड्ने गरी कोशी राजमार्ग निर्माण गरिरहेको छ ।
इच्छुक कम्पनीको प्रस्ताव मूल्याङ्कन गरी पूर्वयोग्यतामा सफल भएका कम्पनीसँग चैतको पहिलो साताभित्रमा प्राविधिक तथा आर्थिक प्रस्तावका लागि बोलपत्र आह्वान गर्ने कार्यतालिका तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
माथिल्लो अरुणको सन् २०२१ को अप्रिलमा ठेकेदार कम्पनी छनोट गरी निर्माण शुरु गर्ने र सन् २०२६ को सेप्टेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
FACEBOOK COMMENTS