काठमाडौं, पुस ७– फुटको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका आज दुबै पक्षका केन्द्रीय समिति बैठक बस्दै छन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्यहरू अहिले बालुवाटारमा भेला हुँदै छन्।
अध्यक्ष ओलीले मंगलबार बिहान ९ बजेका लागि बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बस्नुअघि नै प्रधानमन्त्री ओलीले डाकेको बैठकले के निर्णय गर्छ भन्नेमा आम चासो छ।
प्रधानमन्त्री ओलीनिकट नेताहरूले आजको बैठकमा दुई विषयमा निर्णय हुन सक्ने बताएका छन्। ‘आजको बैठकले प्रचण्ड र नेपाललाई कारबाही गर्ने निर्णय गर्न सक्छ,’ एक केन्द्रीय सदस्यले भने।
त्यसरी कारबाहीको निर्णय गर्दा बहुमत नपुग्ने भएकाले ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउन केन्द्रीय समिति सदस्य थप्ने तयारी गरेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए। नेकपामा अहिले ४ सय ४१ जनाको केन्द्रीय कमिटी छ। केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओली भने अल्पमतमा छन्। केन्द्रीय कमिटीमा पूर्वमाओवादीबाट २ सय जना जति सदस्य छन् भने नेता नेपाल पक्षका झन्डै सय जना छन्।
‘आज केन्द्रीय सदस्य थपेर बहुमत भए प्रचण्ड-नेपाललाई कारबाहीको निर्णय गर्नुपर्दैन,’ ओली निकट ती केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्रीले त्यही तयारी गरिरहनुभएको मैले बुझेको छु।’
FACEBOOK COMMENTS