काठमाडौं, माघ ८ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्नासाथ निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका दर्जनौं फैसला उल्ट्याइदिएका छन्। आफ्ना पूर्ववर्तीले लिएका केही नीतिहरूलाई बाइडेनले राष्ट्रपतिको कुर्सीमा बस्नासाथ पल्टाइदिएका हुन्।
सपथ लिएर काम शुरु गर्न ह्वाइटहाउस पुगेका बाइडेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले हाम्रा अघिका संकटहरूसँग जुध्नुछ, त्यसैले हामीसँग व्यतित गर्नका लागि पर्याप्त समय छैन।’
राष्ट्रपति बन्नासाथ बाइडेनले सबैभन्दा पहिले १५ वटा कार्यकारी आदेश (एग्जिक्युटिभ अर्डर) मा हस्ताक्षर गरेका थिए। ती आदेशमा कोरोना महामारीसँग जुध्न सरकारलाई सहयोग पुग्ने लगायतका विषय छन्। यस अतिरिक्त बाइडेनले जलवायु संकट र आप्रवासनबारे पूर्ववर्ती ट्रम्प प्रशासनले लिएका नीतिहरू बदल्न पनि नयाँ आदेश दिएका छन्।
ह्वाइट हाउसको ओभल अफिस (आफ्नो कार्यालय) मा कालो मास्क पहिरिएर पुगेका बाइडेनले पत्रकारहरूसँग कुराकानी गर्दै कोरोना महामारी, आर्थिक र जलवायु संकट निवारण आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको बताइसकेका छन्।
बाइडेनले भनेका छन्, ‘ट्रम्प प्रशासनले लिएका गलत निर्णयबाट देशलाई भएको नोक्सानीबाट उठ्नका लागि हामीले आउँदा दिनमा धेरै काम गर्नुपर्नेछ, गर्नेछौं।’
FACEBOOK COMMENTS