काठमाडौं, फाल्गुन २४ – लोकप्रिय एप ट्रुकलरले आफ्ना प्रयोगकर्ताका लागि एउटा नयाँ एप सार्वजनिक गरेको छ । ट्रुकलरको ‘गार्जियन्स-पर्सनल सेफ्टी’ नाम दिइएको यो एपलाई व्यक्तिगत सुरक्षाका लागि ल्याइएको हो ।
यो एपको माध्यमबाट प्रयोगकर्ताले आफ्ना नजिकका व्यक्तिहरुमाथि पल पल नजर राखेर उनीहरुको ख्याल राख्न सक्नेछन् । यो एपलाई खासगरी आपतकालीन सेवाका लागि सार्वजनिक गरिएको हो ।
ट्रुकलर गार्जियन्स एपको फिचरले यदि तपाईं कतै जाँदै हुनुहुन्छ र आफ्ना अभिभावकलाई त्यसको चिन्ता नहोस् भन्ने चाहनुहुन्छ । त्यस्तो अवस्थामा तपाईंले आफ्नो लोकेसन शेयर गर्न सक्नुहुन्छ ।
एक पटक लोकेसन शेयर गरिसकेपछि तपाईंका अभिभावकले तपाईंको लाइभ लोकेसन हेर्न सक्छन् । ट्रुकलरका अनुसार गार्जियन्स तयार पार्न १५ महिनाको समय लागेको छ ।
डेटा सेक्युरिटीको प्रश्नमा कम्पनीले कुनै पनि शर्तमा प्रयोगकर्ताको लोकेसन अन्य थर्ड पार्टी एपसँग शेयर नगरिने बताएको छ । कम्पनीले यतिसम्म दाबी गरेको छ कि गार्जियन्स एपको डेटा ट्रुकलरलाई समेत शेयर गरिने छैन ।
ट्रुकलर गार्जियन्स एपमा तपाईं आफ्नो ट्रुकलर आईडीबाटै लगइन गर्न सक्नुहुन्छ । भेरिफिकेसनका लागि मस्ड कल तथा ओटीपी कोडको प्रयोग हुन्छ ।
ट्रुकलर गार्जियन्स एपलाई मोबाइलमा तीन प्रकारको अनुमति दिनुपर्ने हुन्छ । जसमा लोकेसन, कन्ट्याक्ट्स र फोन कलको अनुमति रहेका छन् ।
गार्जियन्स पूर्णतः निःशुल्क छ । साथै कम्पनीले यो एपमा कुनै किसिमका विज्ञापन समेत नदेखाउन बताएको छ ।
केही दिनमा ट्रुकलर एपमै गार्जियन्स एप डाउनलोड गर्न सकिने गरी एउटा शर्टकट बटन समेत उपलब्ध हुनेछ । कम्पनीले आफ्नो नयाँ एपका लागि कतिपय स्थानीय प्रशासनसँग समेत कुराकानी गरिरहेको छ । ता कि मानिसहरुले आपतकालीन अवस्थामा यसको सहयोग लिन सकुन् ।
FACEBOOK COMMENTS