काठमाडौं, वैशाख २४ – कोरोना भाइरसविरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे सार्वजनिक समाचारप्रति विवेकशील साझा पार्टीले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । सार्वजनिक समाचारमा उल्लेखखित तथ्यहरुका आधारमा सरकारले आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न व्यापारीहरुलाई संरक्षण गरेको आरोप उक्त पार्टीले लगाएको छ ।
सरकारको निरीयता प्रदर्शन गर्ने तथा दोषजति व्यापारीको थाप्लोमा हालेर सरकार उम्किन खोजेको आरोप लगाउँदै विवेकशीलले व्यापारीमाथि कारवाही किन नगरिएको, दोषी व्यापारीलाई किन संरक्षण गरेको लगायत प्रश्न गरेको छ ।
यस्ता छन् विवेकशीलको प्रश्नहरु–
१. महामारीजस्तो राष्ट्रिय तथा विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?
२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ ? फेरि, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?
३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्यो ?
४. प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए । मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन । बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?
चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो । यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस् ।
तर सरकार त्यतिमै उम्किन पाउँदैन, यी सबै घटनाको उसले जिम्मेवारी लिनुपर्ने सो पार्टीको भनाइ छ । विवेकशील साझा पार्टी माथि उल्लेखित चार प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष पेस गर्न सरकारसँग माग गरेको छ ।
‘जनताको अभिभावक सरकार हो, व्यापारी होइन। राज्य शक्ति सरकारसँग छ, व्यापारीसँग होइन । तसर्थ भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ विवेकशील साझाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो समाचार पढ्नुहोस्–
FACEBOOK COMMENTS