काठमाडौं, वैशाख ३१ – नेपाल टेलिकम (एनटीसी) को आम्दानी करिब एक अर्ब रुपैयाँले बढेको छ । कम्पनीका सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको हो ।
कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानी करिब एक अर्ब रुपैयाँले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिकमा मात्रै ९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा भने कम्पनीले करिब आठ अर्ब ८० करोड रुपियाँ आम्दानी गरेको थियो ।
अहिले टेलिकमका सक्रिय प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० लाखभन्दा बढीले बढेको बताइएको छ । टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८ अर्ब ६३ करोड र दोस्रो त्रैमासिकमा ९ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
FACEBOOK COMMENTS