काठमाण्डौँ — कोसी करिडोर प्रसारणलाइन आयोजनामा धरान उपमहा नगरपालिकाको अवरोध हटाउने गरी समस्या समाधान गर्न कार्यदल गठन भएको छ ।
धरानको वडा नम्बर २० मा आफ्नो आयोजना निर्माण गर्नुपर्ने भन्दै उपमहानगरपालिका कार्यालयले आयोजनामा अवरोध गर्दै आएको छ ।
धरान उपमहानगरपालिकाले प्रस्तावित रुटबाट प्रसारणलाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेको थियो।
यसबाट आयोजनाको निर्माण रोकिएको छ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा शनिबार धरानमा भएको सरोकारवालाको भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
कार्यदललाई सातदिनभित्र समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गर्ने जिम्मेवारी दिइएको छ।
उपमहानगरपालिकाले नै प्रसारण लाइनको रुट परिवर्तन गर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो।
— कान्तिपुर
FACEBOOK COMMENTS