काठमाडौं । सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमशः २० लाख रूपैयाँ र ३० लाख रूपैयाँ सहयोग गरेको छ ।
आज सोमबार एक कार्यक्रमकाबीच तनहुँको शेराटारस्थित कम्पनीको कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । कारखाना प्रबन्धक कार्कीले सूर्य नेपाल प्रालिले सो क्षेत्रमा गर्दै आएको विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीको मानव शंसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रालि सदैव तयार रहेको बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपाल प्रालिले उक्त क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरेका थिए ।
सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा १० लाख रूपैयाँ तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाईंमा सहयोग पर्याउन १/१ करोड रूपैयाँ प्रदान गरेको जनाएको छ ।
सूर्य नेपालले सो क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १/१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।
त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि त्यस क्षेत्रका विभिन्न अस्पतालहरू तथा स्थानीयवासीहरूलाई विभिन्न स्वास्थ्य सामग्रीहरू वितरण गरी कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा सहयोग गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS