दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा दोलखाकै पहिलो दुईतारे होटेल ‘होटेल एम्ब्रोसिया’ सञ्चालनमा आएको छ । होटेल एम्ब्रोसियाको आज एक समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।
दुईतारे होटेल एम्ब्रोसिया उद्योग वाणिज्य संघ दोलखाका सदस्य एबम् युवा व्यवसायी दिनेश बस्नेतको लगानीमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको हो । जिल्लामै पहिलोपटक करिब १३ करोड रुपैयाँ लागतमा लिफ्टसहितको सुविधासम्पन्न होटेल सञ्चालनमा आएको हो ।
सरकारले तारे होटेलका लागि जारी गरेको सबै मापदण्ड होटेल एम्ब्रोसियाले पूरा गरेको सञ्चालक बस्नेतले जानकारी दिएका छन् । युवा व्यवसायी बस्नेतले सुरुमा जिल्लामा पर्यटकहरुको आवश्यकतालाई दृष्टिगत गर्दै होटेल एम्ब्रोसियाको अवधारणा ल्याए पनि पछि पर्यटन बोर्डले तारे होटेलमा आवश्यक पर्ने मापदण्ड पुरा भएको जनाएपछि प्रक्रिया पुरा गरेर दुईतारे होटलको प्रमाणपत्र लिएको बताए ।
उनका अनुसार होटेल एम्ब्रोसियामा १०० जनालाई धान्न सक्ने ३५ वटा कोठा रहेको छ भने विभिन्न सभा–समारोह सञ्चालन गर्नका लागि ५०० जना क्षमताको पार्टी प्यालेसको समेत व्यवस्था छ । यस्तै, ९० जना मानिसले लञ्च, डिनर गर्नसक्ने व्यवस्था मिलाइएको छ । दुईतारे होटेलमा करीब ३०० जनाले चरिकोट आसपासको दृश्यावलोकन गर्न सक्नेगरी रुफटपको समेत व्यवस्था गरिएको छ ।
होटेलमा दुईपाङ्ग्रे सवारी ८० वटा र चारपाङ्ग्रे सवारी ३० वटासम्म पार्किङ क्षमता छ । पर्यटकलाई थकान मेटाउन होटेलमा सौना स्टिमको समेत व्यवस्था मिलाइएको छ । विगतमा जिल्ला भ्रमणमा आएका पर्यटकहरूले होटेल भरिभराउ भएर कतिपय अवस्थामा सडकमै रात कटाउनुपर्ने अवस्था भए पनि अब यो होटेल सञ्चालनमा आएसँगै त्यस्ता समस्या नदोहोरिने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
FACEBOOK COMMENTS