एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणअन्तर्गत साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स ११ लाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्यो ।
उसका लागि पवन सरार्फले अर्धशतकीय पारी खेले । १७ औँ ओभरको दोस्रो बलमा रायन बर्लले शेर मल्लबाट क्याच गराउनुअघि उनले ४४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाए ।
७ रनमा ३ विकेट गुमाएको खराबस्थितिबाट पवन र शंकर रानाले चौथो विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको पारी उकासेका थिए । १०औँ ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले विकेटकीपर रहमानउल्लाह गुर्बाजबाट क्याच गराउनुअघि शंकरले २७ बलमा १४ रन बनाए ।
त्यस्तै, योगेन्द्रसिंह कार्कीले ३३, अविजित रहेका भुटानीका युवा ब्याट्सम्यान रानजुंग मिक्यो दोर्जीलले १७ रनको योगदान दिए । बलिङमा जितेन्द्र मुखियाले ४, गुल्सन झा र रायन बर्लले समान २र२ विकेट हात पारे ।
FACEBOOK COMMENTS