काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउने तयारी गरेको छ ।
प्रतियोगिताको प्रत्येक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ । दसैँसम्म मैदानमा गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार हुने लक्ष्य राखिएको छ ।
एनपीएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास भइरहेको छ । टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको छ ।

गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ । साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ ।

एनपीएलको तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म काठमाडौंमा आयोजना हुँदै छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन र आवश्यक सुविधालाई व्यवस्थित बनाउने कामलाई अन्तिम रूप दिइँदै छ ।