काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८ विन्दुमा थामिएको थियो ।
त्यस्तै, आज ५ अर्ब १२ करोड बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब ५० करोड बराबरको कारोबार भएको थियो । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज गुडवील फाइनान्स, युनाइटेड इदीमर्दी हाइड्रोपावर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्शका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS