काठमाडौं । अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवन प्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङको नाम समेत जोडिएपछि प्रकरण थप पेचिलो बनेको छ ।
दुवै पक्षले एकअर्कामाथि ठगी, रकम हिनामिना, चेक अनादर र धम्की दिएको आरोप लगाएका छन् भने घटनाबारे प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी पुगेको छ ।
बुढाथोकी परिवारले जीवन प्रसाद बास्कोटाले क्यान्सर पीडित बुबा डम्बरबहादुर बुढाथोकीको उपचार तथा बीमा गराइदिने बहानामा परिवारसँग नजिकिएर विभिन्न समयमा करोडौँ रुपैयाँ लिएको आरोप लगाएको छ । परिवारका अनुसार बास्कोटाले आफूलाई बीमा कम्पनीको उच्च तहको कर्मचारीका रूपमा चिनाउँदै विश्वासमा पारेका थिए ।
कुष्माकी बहिनी सुमना बुढाथोकीका अनुसार सुरुमा परिवारबाट २५ लाख रुपैयाँ नगद लिइएको थियो । उक्त रकम जुटाउन आफूहरूले करिब १५ लाख रुपैयाँ बराबरको सुन समेत बिक्री गरेको उनको दाबी छ । त्यसपछि बुबाको निधनपछि बीमासम्बन्धी कागजी प्रक्रिया पूरा गर्ने भन्दै बास्कोटा घरमा आउजाउ गर्न थालेको र सोही क्रममा सर्लाहीमा रहेको जग्गा बिक्री गरेर थप ३० लाख रुपैयाँ दिएको परिवारको भनाइ छ ।
त्यसैगरी, कुष्माले सानिमा बैंकबाट सेयर धितोमा कर्जा लिएपछि स्वीकृत ४२ लाख रुपैयाँमध्ये ३० लाख ५० हजार रुपैयाँ बास्कोटाको खातामा आरटीजीएस मार्फत पठाइएको परिवारले जनाएको छ । विभिन्न समयमा गरी बास्कोटाले आफूहरूबाट २ करोड ८ लाख रुपैयाँभन्दा बढी लिएको परिवारको दाबी छ ।
यता, बास्कोटाले भने आफूले कुष्माबाट ठूलो रकम लिन बाँकी रहेको र आफू नै पीडित भएको दाबी गरेका छन् । उनले आफूहरूबीच लामो समयदेखि व्यक्तिगत सम्बन्ध रहेको र कुष्माले सेयर बजारमा लगानी तथा व्यक्तिगत सम्पत्ति सम्बन्धी कामका लागि आफूबाट रकम लिएको बताएका छन् ।
बास्कोटाका अनुसार उनले आफ्नो सम्पत्ति बिक्री गरेर तथा ऋण लिएर समेत कुष्मालाई रकम दिएका थिए । आफूले करिब २ करोड ९२ लाख रुपैयाँसम्म दिएको दाबी गर्दै उनले अहिले पनि आफ्नो नाममा ठूलो ऋण रहेको बताएका छन् ।
कुष्मा अमेरिका गएपछि सम्पर्क विहीन बनेको र आफूले पटक–पटक रकम फिर्ता माग्दा समेत बेवास्ता गरिएको बास्कोटाको आरोप छ । उनले आफूसँग कुष्माले दिएको १ करोड ८५ लाख रुपैयाँको चेक रहेको र रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियाअनुसार चेक बाउन्स गराएको बताएका छन् ।
तर, कुष्मा पक्षले भने उक्त चेक आफूहरूको सहमतिबिना घरबाटै चोरेर लगिएको र किर्ते हस्ताक्षर गरी बाउन्स गराइएको आरोप लगाएको छ । अमेरिकामा रहेकी कुष्माले आफ्नो बैंक खातामा ठूलो कारोबार नभएको अवस्थामा एकाएक १ करोड ८५ लाख रुपैयाँको चेक बाउन्स भएको सूचना आएको बताएकी छन् ।
यसपछि सोही चेकबुकबाट सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको अर्को चेक समेत बाउन्स गराइएको कुष्मा पक्षको दाबी छ । उक्त चेकमा २०८३ जेठ २४ गतेको मिति उल्लेख रहेको उनीहरूको भनाइ छ ।
कुष्माले सांसद तामाङको नाममा चेक कसरी पुग्यो भन्ने विषय अनुसन्धानको विषय भएको बताएकी छन् ।
उनले आफू र सांसद तामाङबीच कुनै चिनजान, मिलेमतो वा सम्बन्ध नरहेको दाबी गर्दै एउटै चेकबुकबाट फरक–फरक व्यक्तिको नाममा ठूलो रकमका चेक बाउन्स गराइएको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेकी छन् ।
कुष्माकी बहिनी सुमनाका अनुसार चेक बाउन्सपछि दिलीप उप्रेती नाम गरेका व्यक्तिले आफूलाई सांसद आशिका तामाङको सहसचिव भन्दै परिवारलाई धम्की दिएको आरोप छ । रकम नतिरे सांसद तामाङको पहुँच प्रयोग गरी सीआईबी तथा इन्टरपोलमार्फत कारबाही गराउने धम्की दिइएको उनको दाबी छ ।
यद्यपि, बास्कोटाले आफूले सांसद आशिका तामाङको नाम लिएर कसैलाई धम्की नदिएको बताएका छन् । उनले तामाङसँग आफ्नो कुनै चिनजान, मिलेमतो वा सम्बन्ध नरहेको दाबी गर्दै उनी र कुष्माबीचको विषय अलग–अलग भएको बताएका छन् ।
सांसद आशिका तामाङले भने आफू नै यस घटनामा पीडित भएको दाबी गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभएको, बरु आफूले प्राप्त गर्नुपर्ने रकमको चेक अनादर भएको स्पष्ट पारेकी छन् ।
तामाङका अनुसार सम्बन्धित व्यक्तिले आफूलाई दिनुपर्ने रकम नतिरेपछि कानुनी प्रक्रियाअनुसार चेक अनादरसम्बन्धी कारबाही अघि बढाइएको हो । उनले आफूविरुद्ध सार्वजनिक भएका समाचार तथा दाबीहरू यथार्थपरक नभएको बताउँदै भ्रममा नपर्न आग्रह गरेकी छन् ।
तामाङले आफू र कुष्माबीचको पुरानो सम्बन्ध तथा आर्थिक कारोबारको विषयसमेत उठाएकी छन् । उनका अनुसार सन् २०१० मा जर्मनीमा रहँदा आफ्नो कुष्मासँग भेट भएको थियो । कुष्माले आफ्नो श्रीमान् थोमससँग आर्थिक कारोबार गरेको र ठूलो रकम लिएर फिर्ता नगरेको तामाङको आरोप छ ।
तामाङका अनुसार थोमसले कुष्मालाई नेपालमा एमबीबीएस अध्ययन गर्ने उद्देश्यका लागि ठूलो रकम पठाएका थिए । सो रकम नेपालमा अन्य व्यक्तिको खातामा पठाइएको र पछि त्यसको दुरुपयोग भएको उनको दाबी छ । कुष्माले सो रकममध्ये केही चलचित्र निर्माणमा समेत प्रयोग गरेको तामाङको आरोप छ ।
तामाङले आफूले यस विषयमा विगतमा पनि सार्वजनिक रूपमा धारणा राख्दै आएको बताएकी छन् । पछिल्लो समय बास्कोटासँगको लेनदेन विवादबारे जानकारी पाएपछि आफूहरूबीच छलफल भएको र त्यसपछि प्रहरीको सहयोग लिइएको उनको भनाइ छ ।
बास्कोटाले पनि तामाङका श्रीमान्सँग सम्बन्धित रकमको विषयमा आफूलाई जानकारी भएको र तामाङको नाममा रहेको १ करोड ३५ लाख रुपैयाँको चेकसमेत बाउन्स भएको बताएका छन् । तर, उनले आफू र तामाङबीच कुनै मिलेमतो नरहेको स्पष्ट पारेका छन् ।
यसैबीच, कुष्मा पक्षले भने प्रहरीमा ठगी तथा किर्तेसम्बन्धी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले सुरुमा उजुरी लिन नमानेको आरोप लगाएको छ । त्यसपछि परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएको जनाएको छ । आयोगबाट आवश्यक छानबिनका लागि प्रहरीलाई निर्देशन भएपछि प्रहरीले जाहेरी दर्ता गर्न बोलाएको कुष्माको दाबी छ ।
दुवै पक्षले आफूहरू नै पीडित भएको दाबी गरिरहेका छन् । कुष्मा पक्षले बास्कोटामाथि करोडौँ रुपैयाँ ठगी गरेको र चेक चोरी तथा किर्ते गरेको आरोप लगाएको छ भने बास्कोटाले आफूले कुष्मालाई दिएको ठूलो रकम फिर्ता नपाएको र आफूविरुद्ध झुटा आरोप लगाएर बदनाम गर्न खोजिएको दाबी गरेका छन् ।
सांसद तामाङले भने आफूले पाउनुपर्ने रकमको चेक अनादर भएपछि कानुनी प्रक्रियामा गएको बताएकी छन् । घटनामा जोडिएका सबै पक्षका दाबी र आरोपको सत्यता भने प्रहरी अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै टुंगो लाग्ने देखिन्छ ।