काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरू गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ।
साथै, देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ।
प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम र एनसेलसहितका मोबाइल सेवा प्रदायकहरूलाई सेवा गुणस्तर, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधिको विस्तारका विषयमा आवश्यक निर्देशन दिइएको हो।
प्राधिकरणले प्रमुख सहरी क्षेत्रबाट ५जी सेवा सुरू गर्ने लक्ष्यसहित चरणबद्ध कार्ययोजना तयार गरी प्राधिकरणमा पेश गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
साथै देशभर ४जी सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्न पनि जोड दिइएको छ।
यसले नेपालमा उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार तथा नयाँ पुस्ताको दूरसञ्चार प्रविधि कार्यान्वयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
मोबाइल सेवाको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै प्राधिकरणले नेटवर्कको विश्वसनीयता, डेटा गतिको स्तर तथा ग्राहक अनुभव सुधार गर्न निर्देशन दिएको छ।
सेवा प्रदायकहरूले प्राधिकरणले निर्धारण गरेका प्रमुख कार्यसम्पादन सूचक (केपिआई) पूरा भए–नभएको सम्बन्धी प्रतिवेदन नियमित रूपमा पेश गर्नुपर्नेछ।
साथै नेटवर्कको अवस्था, सेवा अवरोध, डेटा गति तथा ग्राहक सन्तुष्टिसम्बन्धी विवरण पनि नियमित रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।