काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै श्रमिक धनुषा जिल्लाबाट विदेशिएका छन्।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार धनुषाले श्रम स्वीकृति लिनेको संख्यामा देशका ७७ जिल्लामध्ये पहिलो स्थान ओगटेको हो।
विभागका अनुसार धनुषाबाट मात्रै ३८ हजार ५ सय ५३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको यात्रा थालेका छन्। दोस्रो स्थानमा रहेको झापाबाट ३५ हजार १ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने मोरङबाट ३१ हजार १ सय २४, सिरहाबाट ३० हजार २ सय ११ र महोत्तरीबाट २८ हजार २ सय २९ जना विदेशिएका छन्।
त्यसैगरी रुपन्देहीबाट २५ हजार ३ सय ९१, सुनसरीबाट २४ हजार ३ सय ६५, सर्लाहीबाट २३ हजार २ सय, सप्तरीबाट २० हजार ५ सय ५९ तथा चितवनबाट १९ हजार ८ सय ३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
विपरीत रूपमा, सबैभन्दा कम श्रम स्वीकृति मनाङ जिल्लाबाट जारी भएको छ। गत आर्थिक वर्षमा मनाङबाट जम्मा २ सय १७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि मुस्ताङबाट २ सय ४४, डोल्पाबाट ६ सय १४, हुम्लाबाट ६ सय ४३, डोटीबाट १ हजार १ सय ६५, कालीकोटबाट १ हजार २४, जुम्लाबाट १ हजार ३ सय ९४, रसुवाबाट १ हजार ७ सय ७१, रुकुम पश्चिमबाट २ हजार १ सय ६६, डडेल्धुराबाट २ हजार ३ सय १९ र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार आर्थिक वर्षभरि वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। पुनः श्रम स्वीकृति लिनेको संख्या हटाउँदा नयाँ श्रम स्वीकृति लिने श्रमिकको संख्या ४ लाख ६ हजार ४ सय ४ रहेको तथ्यांकले देखाएको छ।
तथ्यांकले तराईका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेखनीय रूपमा बढी रहेको देखाएको छ। तुलनात्मक रूपमा हिमाली तथा कम जनसंख्या भएका जिल्लाबाट भने विदेशिने श्रमिकको संख्या निकै कम रहेको विभागको विश्लेषण छ।