काठमाडौं । ज्योति विकास बैंकले चितवन जिल्ला, खैरहनी वडा नं. ६ मा अवस्थित खैरहनी माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३० थान डेस्क-बेञ्चहरू प्रदान गरेको छ ।
बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार गर्न न्यूनतम भौतिक पूर्वाधारमा योगदान पुर्याउने तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो । यस सहयोग पश्चात, विद्यार्थीहरूले डेस्क-बेञ्चको उपयोग गरेर सहज रूपमा अध्ययन गर्ने वातावरण निर्माणमा सुधार हुने बैंकले अपेक्षा गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका पर्सा शाखाका प्रबन्धक यज्ञ राज भट्टद्वारा विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्मालाई उक्त डेस्क-बेञ्चहरु हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरू तथा बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक गोपाल प्रसाद शर्माले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग प्रति कृतज्ञता व्यक्त गरे ।
डेस्क-बेञ्चहरूको व्यवस्था भएसँगै जिर्ण अवस्थामा रहेका डेस्क-बेञ्चहरूका कारण विद्यार्थीहरूलाई हुने असुविधाको अन्त्य भएकोमा उनले खुशी व्यक्त गरे । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS