काठमाडौं । नेपाल ट्रेड यूनियन कांग्रेससँग आवद्ध नेपाल ब्युटिसियन संघले २१औँ स्थापना दिवस मनाएको छ ।
नेपाल ब्युटिसियन संघ केन्द्रीय समितिले सृजना सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंमा विशेष समारोह आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले श्रमजीवीको पेशागत सम्मान र सुरक्षाबाट राष्ट्रको उन्नतिमा सहयोग पुग्ने बताइन् । ब्युटिसियन क्षेत्रमा क्रियाशील दिदीबहिनीहरूबाट हजारौं श्रमिकले रोजगारी पाएको र यस क्षेत्रमा काम गर्नेहरूका लागि सिपमुलक तालिमको निम्ति राज्यले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै, गएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी प्रत्यासी समेत रहेकी प्रमुख अतिथि सिंहले नेपाली महिला सशक्तीकरणमा मंगलादेवी सिंहको अतुलनीय योगदान रहेको चर्चा गरिन् ।
संघकी अध्यक्ष सरिता गौतमको अध्यक्षता सम्पन्न स्थापना दिवस एवम् हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहालले श्रमिक एकता र बलियो संगठनले मात्र पेशागत अधिकार सुरक्षित हुने बताए । नेपाल ट्रेड यूनियन कांग्रेसका महासचिव अजय कुमार राईले ट्रेड यूनियन आन्दोलनको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको हुँदा श्रमिकले बढी सजग हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले श्रमिक सङ्गठन बलियो भए नेपाली कांग्रेस बलियो हुने भन्दै कांग्रेस पार्टीले ट्रेड यूनियनलाई विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।

श्रमिक नेता डीपी अर्यालले श्रम कानुन कार्यान्वयन र योगदानमा आधारित सामाजिक सुरक्षाको अभियानमा सबै श्रमिक अटाउन नेतृत्वले मेहनत गर्नु पर्ने बताए भने काठमाडौं महानगरपालिका–१० का वडा अध्यक्ष रामकुमार केसीले ब्यटिसियन क्षेत्रका श्रमिक दिदीबहिनीका निम्ति महानगरकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा ब्युटिसियन संघकीे संस्थापक अध्यक्ष भगवती खड्काले २१ वर्षसम्म यस संघलाई यहाँसम्म ल्याउन ठूलो मेहनत गरेको चर्चा गरे । सबै जिल्लामा सङ्गठन र सदस्यता विस्तारमा जोड दिन उनले आग्रह गरिन् ।
यस्तै, यूएनआर–नेपालकी प्रतिनिधि प्रतिमा मट्टले संघलाई मजबुत बनाउन यूएनआईले प्राविधिक एवम् आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
यसैगरी, संघकी महासचिव शशी शाहले सञ्चालन गरेको कार्यक्रममा सबै वक्ता तथा सहभागीले नारीहरूको महान पर्व हरितालिका तिजको महत्वका बारेमा पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रपछि तिजका उपलक्ष्यमा सांगितिक कार्यक्रम समेत भएको थियो । नेपाल ब्युटिसियन संघले स्थापना दिवस एवम् हरितालिका तिजको कार्यक्रम विभिन्न जिल्ला एवम् प्रदेश समितिले पनि आयोजना गरेको बताएको छ ।
हेरौँ केही तस्बिरहरू–
