काठमाडौं । प्रधानमन्त्री बालेन साहले दुग्ध विकास संस्थान (डिडिसी) को याक चिजको सार्वजनिक रूपमा ब्रान्डिङ गरेपछि डिडिसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्न थालेको छ ।
त्यसपछि संस्थाका उत्पादनको प्रचार–प्रसारले थप गति पाएको र पछिल्ला तीन महिनामा डिडिसीको समग्र व्यापार ३५ प्रतिशतले वृद्धि भएको संस्थानले जनाएको छ । व्यापारमा आएको सुधारसँगै किसानलाई नियमित भुक्तानी, दूध संकलनमा वृद्धि, नयाँ बिक्री केन्द्र विस्तार, अनलाइन सेवा सञ्चालनको तयारी तथा घिउ निर्यातको योजना पनि अघि बढाइएको जनाइएको छ ।
डिडिसीका अनुसार पछिल्ला केही महिनादेखि संस्थाले बजार विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारी स्वामित्वको संस्थाप्रति उपभोक्ताको विश्वास बढाउने, आफ्ना उत्पादनको पहुँच विस्तार गर्ने तथा प्रतिस्पर्धी बजारमा पुन: बलियो उपस्थिति बनाउने उद्देश्यअनुसार काम भइरहेको जनाइएको छ । त्यसको प्रत्यक्ष प्रभाव व्यापारमा देखिन थालेको संस्थानको दाबी छ ।
यसै साता संस्थानले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिना अर्थात् वैशाख, जेठ र असारमा डिडिसीको कारोबार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ । समीक्षा अवधिमा कुल कारोबार ९९ करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष यही अवधिमा ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सीमित उत्पादन र निश्चित मूल्यमा कारोबार गर्ने संस्थाका लागि यो वृद्धि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
डिडिसीका अनुसार पछिल्लो समय सबैभन्दा धेरै चर्चा पाएको उत्पादन याक चिज हो । प्रधानमन्त्री बालेन साहले सामाजिक सञ्जालमार्फत याक चिजको प्रवद्र्धन गरेपछि यस उत्पादनबारे आम उपभोक्तामाझ चासो बढेको संस्थानले जनाएको छ । तथ्यांक अनुसार पछिल्ला तीन महिनामा मात्रै १५ हजार किलो याक चिज बिक्री भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ हजार किलो मात्र बिक्री भएको थियो । यसरी छोटो अवधिमै चार हजार किलोभन्दा बढी याक चिजको अतिरिक्त बिक्री भएको डिडिसीले जनाएको छ ।
व्यापारमा आएको सुधारले किसानलाई गर्ने भुक्तानीमा पनि राहत पुगेको छ । संस्थानका अनुसार केही महिना अघि करिब ६५ करोड रुपैयाँ पुगेको किसानको बक्यौता रकम अहिले घटेर १२ करोड रुपैयाँमा सीमित भएको छ । बाँकी रकम पनि क्रमश: भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ । डिडिसीले किसानलाई नियमित भुक्तानी दिन थालेपछि दूध संकलनमा पनि सुधार आएको उल्लेख गरिएको छ ।
हाल देशभरका करिब डेढ लाख किसानबाट सात सय भन्दा बढी दुग्ध सहकारी मार्फत दैनिक दूध संकलन भइरहेको डिडिसीले जनाएको छ । दूध बिक्रीबाटै दैनिक घर खर्च चलाउने साना किसानको संख्या धेरै भएकाले भुक्तानीलाई प्राथमिकतामा राखिएको र दूध खरिद बापतको रकम नियमित रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको संस्थानले जनाएको छ ।
डिडिसीले किसानलाई उपलब्ध गराउने दूधको खरिद मूल्य पनि बढाएको छ । तीन प्रतिशत चिल्लो र आठ प्रतिशत ठोस पदार्थ भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँबाट बढाएर ६६ रुपैयाँ पुर्याइएको छ । संस्थानले बजारमा दूधको बिक्री मूल्य दुई रुपैयाँले बढाएपछि किसानलाई उपलब्ध गराइने मूल्यमा पनि एक रुपैयाँ वृद्धि गरिएको जनाइएको छ ।
दूध संकलनको दृष्टिले बागमती प्रदेश अझै सबैभन्दा ठूलो आधार क्षेत्र बनेको छ । संस्थानका अनुसार कुल दूध संकलनको करिब ५० प्रतिशत बागमती प्रदेशबाट हुने गरेको छ । त्यसपछि कोशी प्रदेशबाट २० प्रतिशत, लुम्बिनी प्रदेशबाट १५ प्रतिशत र मधेश प्रदेशबाट पाँच प्रतिशत दूध संकलन हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । बाँकी दूध अन्य प्रदेशबाट संकलन गरिन्छ । काभ्रे, चितवन, सिन्धुपाल्चोक, मकवानपुर लगायत जिल्लाबाट सबैभन्दा धेरै दूध आउने गरेको जनाइएको छ ।
बजार विस्तारलाई तीव्र बनाउन डिडिसीले काठमाडौं उपत्यकामा आफ्नै बिक्री केन्द्रको संख्या उल्लेखनीय रूपमा बढाउने तयारी गरेको छ । हाल लैनचौर, सिंहदरबार र खुमलटारमा मात्रै सञ्चालनमा रहेका बिक्री केन्द्रलाई विस्तार गरी दसैँअघि ५० वटा पुर्याउने लक्ष्य राखिएको छ । पहिलो चरणमा साउन महिना भित्रै १० वटा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
संस्थानले पहिलोपटक अनलाइन व्यापारमा पनि प्रवेश गर्ने तयारी गरेको छ । ललितपुरको एकान्तकुनामा अनलाइन व्यापारका लागि बिक्री केन्द्र सञ्चालनमा आइसकेको छ । सातदोबाटो, भैँसेपाटी, सानेपा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई लक्षित गरी होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । त्यसका लागि आवश्यक प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको र सेवा सञ्चालनपछि थप अनलाइन बिक्री केन्द्र पनि विस्तार गरिने योजना रहेको डिडिसीले जनाएको छ ।
उत्पादनको माग बढ्दै गएपछि ढुवानी व्यवस्थामा पनि सुधार गर्ने तयारी गरिएको छ । हाल काठमाडौं उपत्यकामा दूध ढुवानीका लागि ६५ वटा तथा अन्य उत्पादन वितरणका लागि चारवटा डेलिभरी भ्यान प्रयोग भइरहेका छन् । बजार विस्तारसँगै थप सवारी साधन थप्ने तयारी गरिएको जनाइएको छ । अहिले देशभर करिब एक हजार चार सय खुद्रा विक्रेतामार्फत डिडिसीका उत्पादन बिक्री भइरहेको तथ्यांक छ ।
डिडिसीले अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्ना उत्पादन विस्तार गर्ने रणनीति अघि बढाएको छ । पहिलो चरणमा मध्यपूर्वका देशमा डिडिसीको घिउ निर्यात गर्ने तयारी भइरहेको जनाइएको छ । वार्षिक कम्तीमा ५० हजार लिटर घिउ निर्यात गर्ने लक्ष्य सहित निजी क्षेत्रसँग सम्झौता भइसकेको छ । आवश्यक गुणस्तर प्रमाणीकरणको प्रक्रिया पूरा भएपछि दसैँअघिबाट निर्यात सुरु गर्ने योजना रहेको संस्थानले जनाएको छ। भविष्यमा अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने लक्ष्य राखिएको छ ।
याक चिज उत्पादनलाई पनि संस्थानले प्राथमिकतामा राखेको छ । रसुवा, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लामा डिडिसीको सहकार्यमा करिब आठ सय याक गोठ सञ्चालनमा रहेको जनाइएको छ । ती गोठमा करिब तीन हजार याक पालिएको अनुमान गरिएको छ । एउटा याकबाट दैनिक औसत चार लिटर दूध उत्पादन हुने तथ्यांक छ । याक पालनको लागत बढी हुने भएकाले किसानलाई दूध खरिद गर्दा ५० प्रतिशत रकम अग्रिम उपलब्ध गराउने व्यवस्था गरिएको डिडिसीले जनाएको छ । याकको दूध प्रतिलिटर १०० रुपैयाँमा खरिद गरिन्छ, जुन गाई–भैँसीको दूधभन्दा धेरै हो ।
हाल डिडिसीले वार्षिक करिब ६० हजार किलो याक चिज उत्पादन गर्दै आएको छ । यसको ठूलो हिस्सा पर्यटकीय क्षेत्रमै बिक्री हुने गरेको छ भने बाँकी उत्पादन काठमाडौंका होटल, रेस्टुरेन्ट तथा खुद्रा बजारमार्फत बिक्री हुने गरेको जनाइएको छ । पछिल्लो समय स्वदेशी उपभोक्तामाझ पनि याक चिजप्रति चासो बढ्न थालेको संस्थानले जनाएको छ ।
डिडिसीका उत्पादनमध्ये दूधको हिस्सा सबैभन्दा ठूलो छ । कुल कारोबारको करिब ९० प्रतिशत हिस्सा दूधले ओगटेको छ भने दहीको हिस्सा करिब पाँच प्रतिशत रहेको जनाइएको छ । बाँकी पाँच प्रतिशत हिस्सा घिउ, पनिर, चिज, याक चिज, नौनी, आइसक्रिम, रसबरी, लालमोहन तथा अन्य दुग्धजन्य उत्पादनले ओगटेका छन् ।
संस्थानका अनुसार हाल दैनिक करिब ६५ हजार लिटर दूध संकलन भइरहेको छ भने बजारमा दैनिक करिब ८० हजार लिटर दूध बिक्री भइरहेको छ । जाडो मौसममा बढी संकलन भएको दूधबाट पाउडर उत्पादन गरी भण्डारण गरिने र गर्मी मौसममा त्यही पाउडरबाट तरल दूध तयार गरेर बजारको माग पूरा गरिने व्यवस्था गरिएको छ । दैनिक सात हजार लिटर दही, एक हजार लिटर घिउ, पाँच सय किलो चिज, चार सय किलो पनिर तथा सयौँ बट्टा मिठाई बिक्री हुने गरेको तथ्यांक पनि सार्वजनिक गरिएको छ।
डिडिसीका अनुसार एक दशक अघि नेपाली दुग्ध बजारमा संस्थानको हिस्सा करिब ५० प्रतिशत थियो । निजी क्षेत्रको तीव्र विस्तारसँगै अहिले त्यो हिस्सा घटेर करिब २० प्रतिशतमा सीमित भएको छ । यद्यपि पछिल्ला महिनामा देखिएको व्यापार वृद्धि, उत्पादनको प्रभावकारी ब्रान्डिङ, किसानमैत्री नीति, बजार विस्तार, अनलाइन सेवा र निर्यात योजनाका कारण डिडिसीले पुन: आफ्नो पुरानो साख र बजार हिस्सा फर्काउने लक्ष्यका साथ काम अघि बढाएको जनाएको छ ।