नेपालको अटोमोबाइल उद्योग अहिले तीव्र रूपान्तरणको चरणमा छ ।
विद्युतीय सवारीसाधनको विस्तार, एसेम्बल उद्योगको सम्भावना, सरकारी नीति, ग्राहकको बदलिँदो अपेक्षा र लक्ष्मी ग्रुपको आगामी रणनीतिबारे कर्पोरेट खबरका लागि लक्ष्मी ग्रुपका अटोमोटिभ महाप्रबन्धक दीपक थपलियासँग गरिएको विशेष कुराकानीको सम्पादित अंश:
आजको दिनमा लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ व्यवसायको अवस्था कस्तो छ ?
नेपालमा लक्ष्मी ग्रुपको नाम लिनेबित्तिकै अटोमोटिभ क्षेत्रलाई फरक दृष्टिले हेरिन्छ । हामीले सन् २००६ देखि अटोमोटिभ क्षेत्रमा प्रवेश गरेका हौँ भने सन् २००९ देखि आधिकारिक वितरकका रूपमा काम गर्न थालेका हौँ । हाल हामीसँग चारवटा प्रमुख अन्तर्राष्ट्रिय ब्रान्ड छन् । सर्वसाधारण बजारमा हुन्डाई, प्रिमियम वर्गमा बीएमडब्लु, प्रवेशस्तर तथा मुख्यधारको एसयूभी वर्गमा चेरी र त्यसको प्रिमियम ब्रान्ड एक्सिड सञ्चालनमा छन् । यससँगै हामीले थप तीनवटा नयाँ ब्रान्ड नेपालका लागि प्राप्त गरिसकेका छौँ ।
सम्भवत: आगामी एक महिनाभित्र ती ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गर्ने तयारीमा छौँ । तीमध्ये पहिलो बीएआईसी हो, जुन बेइजिङ अटोमोटिभ उद्योग निगम अन्तर्गत चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो । यसै समूहले चीनमा मर्सिडिज–बेन्जका केही मोडल समेत उत्पादन गर्छ । बीएआईसी अन्तर्गतको प्रिमियम विद्युतीय ब्रान्ड आर्कफक्स पनि नेपाल ल्याउँदैछौँ । त्यसैगरी चेरी समूहकै प्रिमियम अफरोड तथा प्लग–इन हाइब्रिड सवारी उत्पादन गर्ने जेटुर ब्रान्ड पनि नेपाल भित्रिँदैछ ।
सन् २००६ देखि २०२६ सम्मको यात्रामा तपाईंहरूले ग्राहकबाट के पाउनुभयो ? तपाईंहरूले ग्राहकलाई खास के दिनुभयो ? र ग्राहकले तपाईंहरूलाई किन रोजिरहेका छन् ?
सर्वप्रथम ग्राहकले हामीलाई किन रोजिरहेका छन् भन्ने बुझ्नु अघि, कति ग्राहकले हामी माथि विश्वास गरेका छन् भन्ने बुझ्न आवश्यक छ । अहिलेको हाम्रो अनुमान अनुसार हालसम्म करिब ५० हजार ग्राहक हामीसँग जोडिएका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उहाँहरूले हाम्रो कम्पनी मार्फत खरिद गरेका सवारीसाधन प्रयोग गरिरहनुभएको छ ।
यो सामान्य उपलब्धि होइन । नेपालमा एक वर्षमा करिब १२ देखि १५ हजार यात्रुवाहक सवारीसाधन बिक्री हुने बजारमा हामीसँग ५० हजारभन्दा बढी ग्राहक हुनु आफैँमा ठूलो उपलब्धि हो । यसले दुई दशकभन्दा बढी समयदेखि ग्राहकले हामी प्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्छ ।
हाम्रो जिम्मेवारी गाडी बिक्री गरेर मात्रै सकिँदैन । ग्राहकले सवारीसाधन खरिद गरेपछि सुरु हुने यात्रा अझ महत्वपूर्ण हुन्छ । गाडीको नियमित सर्भिसिङ, आवश्यक मर्मत, प्राविधिक समस्या समाधान, आवश्यक पुर्जा उपलब्ध गराउने देखि सम्पूर्ण बिक्रीपछिको सेवा व्यवस्थापन गर्नु हाम्रो दायित्व हो ।
हामीले बिक्री गरेको ५० हजार भन्दा बढी सवारी साधनको एउटा ठूलो सेवा प्रणाली सञ्चालन गरिरहेका छौ । कुनै ग्राहकलाई नियमित मर्मत आवश्यक पर्छ, कसैलाई दुर्घटनापछिको मर्मत, कसैलाई प्राविधिक समस्या समाधान, कसैलाई निर्धारित समय अनुसारको सर्भिसिङ । प्रत्येक ग्राहकको आवश्यकता फरक हुन्छ र ती सबै आवश्यकतालाई सम्बोधन गर्नु सजिलो विषय होइन ।
यति ठूलो संख्यामा रहेका ग्राहकको अपेक्षा पूरा गर्नु नै हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो । ग्राहकका गुनासा, सुझाव, आवश्यकता र समस्यालाई समयमै सम्बोधन गर्न सकियो भने मात्रै उनीहरू सन्तुष्ट हुन्छन् । हामी त्यही सन्तुष्टि कायम राख्ने प्रयास गरिरहेका छौँ ।
हामीले सधैँ सेवा प्रणालीलाई बलियो बनाउन जोड दिएका छौँ । ग्राहकलाई गाडी बिक्री गर्नु मात्रै हाम्रो उद्देश्य होइन, बिक्रीपछि पनि उहाँहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।
आज पनि हामीसँग धेरै ग्राहक दोहोरिएर गाडी खरिद गर्नुहुन्छ । त्यसको मुख्य कारण हाम्रो सेवा, विश्वास र ग्राहकसँगको दीर्घकालीन सम्बन्ध हो । ग्राहक सन्तुष्ट हुनुभयो भने उहाँ फेरि पनि हाम्रो ब्रान्ड रोज्नुहुन्छ । हामीलाई लाग्छ, यही विश्वासका कारण आज पनि नेपाली बजारमा हाम्रो ब्रान्डप्रति आकर्षण कायम रहेको छ ।
हामी आफैँलाई एउटा परिपक्व ब्रान्डका रूपमा स्थापित गर्न प्रयासरत छौँ । परिपक्व ब्रान्डको पहिचान भनेको बिक्रीको संख्या मात्रै होइन, ग्राहकलाई बिक्रीपछि कस्तो सेवा दिन सकियो भन्ने हो । त्यही मान्यताका साथ हामी निरन्तर काम गरिरहेका छौँ ।
धेरै ब्रान्डले गाडी बिक्री अघि सेलिब्रिटी मार्फत प्रचार गर्छन् । तर गाडी किनिसके पछि ग्राहकका समस्या समाधान गर्न, उहाँहरूको सुझाव सुन्न र समीक्षा लिन तपाईंहरूले कस्तो अभ्यास गर्नुभएको छ ?
सबै भन्दा पहिले एउटा कुरा स्पष्ट भन्न चाहन्छु । हामीले गाडी बिक्री गर्नका लागि सेलिब्रिटी वा प्रभावशाली व्यक्तिलाई अघि सारेर ग्राहकलाई आकर्षित गर्ने नीति कहिल्यै अपनाएका छैनौँ ।
तपाईं अटो शोमा आउनुभयो भने पनि देख्नुहुनेछ, लक्ष्मी ग्रुप अन्तर्गतका ब्रान्डहरूको स्टलमा बाहिरका मोडल वा सेलिब्रिटी भन्दा पनि हाम्रै कर्मचारी ग्राहकसँग प्रत्यक्ष संवाद गरिरहेका हुन्छन् । उत्पादनबारे सबैभन्दा राम्रो जानकारी हाम्रै टोलीसँग हुन्छ । त्यसैले ग्राहकलाई पनि वास्तविक जानकारी दिन सकिन्छ भन्ने हाम्रो विश्वास हो ।
हामीले कहिल्यै पनि पैसा तिरेर प्रभावशाली व्यक्ति वा सेलिब्रिटी मार्फत उत्पादनको प्रचार गरेका छैनौँ । किनभने ग्राहकलाई जुन मूल्य र विशेषता भएको उत्पादन हो, त्यही कुरा स्पष्ट रूपमा जानकारी दिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
हामी आवश्यकता भन्दा बढी वाचा गर्दैनौँ । बढाइचढाइ गरेर बजारमा प्रचार गर्नु, अवास्तविक अपेक्षा सिर्जना गर्नु वा ग्राहकलाई प्रभावित पार्न अतिरञ्जित दाबी गर्नु अन्तत: ब्रान्डकै लागि हानिकारक हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । ग्राहकले गाडी खरिद गरेपछि उहाँले हामीले भनेकै सेवा र सुविधा पाउनुपर्छ । यदि प्रचार र वास्तविकता बीच फरक भयो भने त्यसले ग्राहकको विश्वास गुम्छ ।
त्यसैले हामीले सधैँ यथार्थमा आधारित जानकारी मात्रै दिने प्रयास गरेका छौँ । उत्पादनमा जे विशेषता छ, त्यही ग्राहकलाई प्रस्तुत गर्छौँ । हामीलाई लाग्छ, दीर्घकालीन रूपमा यही नै सही बजार रणनीति हो ।
हरेक ग्राहकको आवश्यकता फरक–फरक हुन्छ । कसैलाई प्रवेशस्तरको गाडी उपयुक्त हुन्छ, कसैलाई मध्यम वर्गको उपयोगिता सवारी, कसैलाई प्रिमियम स्पोट्र्स युटिलिटी भेहिकल, कसैलाई विद्युतीय सवारी, कसैलाई हाइब्रिड वा प्लग–इन हाइब्रिड सवारी आवश्यक पर्छ । त्यसैले हामी कुनै एउटा गाडी सबैका लागि उपयुक्त छ भनेर प्रस्तुत गर्दैनौँ ।
हाम्रो काम भनेको ग्राहकको आवश्यकता, बजेट, प्रयोगको उद्देश्य र जीवनशैली बुझेर उहाँलाई सबैभन्दा उपयुक्त सवारी साधन सिफारिस गर्नु हो । त्यसपछि पनि बिक्री पछिको सेवा, नियमित सम्पर्क, सर्भिस, प्राविधिक सहयोग र ग्राहकका सुझावलाई निरन्तर प्राथमिकतामा राख्छौँ ।
हामी चमकधमकपूर्ण प्रचारमा भन्दा गुणस्तरीय उत्पादन, पारदर्शी जानकारी र बिक्रीपछिको सेवा मार्फत ग्राहकको विश्वास जित्न चाहन्छौँ । आज हामीसँग रहेका हजारौँ पुन: ग्राहक र लामो समयदेखि कायम रहेको विश्वासले पनि यही कुरा पुष्टि गर्छ ।
जस्तो, कुनै पनि ग्राहकले गाडी किनिसके पछि लक्ष्मी ग्रुपको दायित्व के–के हुन्छ ? ग्राहकप्रति तपाईंहरूले कस्ता जिम्मेवारी पूरा गर्दै आउनुभएको छ ?
नेपालमा घर पछि सबैभन्दा ठूलो लगानी धेरैका लागि गाडी नै हुन्छ । ग्राहकले चाहे प्रवेशस्तरको गाडी किन्नुभएको होस् वा विलासी वर्गको, आफ्नो कमाइको ठूलो हिस्सा गाडी खरिदमा खर्च गर्नुभएको हुन्छ । त्यसैले ग्राहकले हामी माथि गरेको त्यो लगानीप्रति हाम्रो जिम्मेवारी पनि त्यत्तिकै ठूलो हुन्छ ।
धेरैले हाम्रो जिम्मेवारी भनेको गाडीको सर्भिस गर्नु मात्रै हो भन्ने बुझ्नुहुन्छ । सर्भिस महत्त्वपूर्ण पक्ष हो, तर त्यसका लागि आवश्यक तयारी अझ ठूलो विषय हो । आफ्टर सेल्स सेवा भित्र धेरै पक्ष समेटिएका हुन्छन् । गाडीको पुन:बिक्री मूल्यदेखि लिएर २०–२५ वर्षसम्म सञ्चालन हुँदा आउन सक्ने सम्भावित अवस्थासम्म हामीले सोच्नुपर्छ । नेपालमा एउटा गाडी धेरै वर्षसम्म प्रयोग हुन्छ । त्यसैले दीर्घकालसम्म ग्राहकलाई सेवा दिन सक्ने पूर्वतयारी आवश्यक हुन्छ ।
यसका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको दक्ष जनशक्ति हो । एउटा सामान्य उदाहरण दिऊँ । तपाईंको हातमा रहेको रिमोट बिग्रियो भने धेरैले नयाँ किन्नुपर्ने ठान्नुहुन्छ । तर दक्ष प्राविधिकले हेर्दा त्यसमा एउटा सानो पुर्जा मात्रै बिग्रिएको हुन सक्छ, जसको लागत निकै कम हुन्छ । समस्या कहाँ छ भन्ने सही पहिचान गर्ने क्षमता नै दक्षताको मापन हो ।
गाडीमा पनि यही कुरा लागू हुन्छ । सही रूपमा समस्या पहिचान गर्न सक्ने प्राविधिक तयार पार्न वर्षौँको लगानी आवश्यक पर्छ । जसरी एउटा विद्यार्थीले विद्यालय र विश्वविद्यालयमा अध्ययन गरेर दक्षता हासिल गर्छ, त्यसरी नै अटोमोबाइल क्षेत्रमा पनि प्राविधिकलाई उच्च स्तरको तालिम आवश्यक हुन्छ ।
हामी एउटा प्राविधिकलाई आधारभूत स्तरबाट दक्ष बनाउने क्रममा करिब पाँचदेखि छ लाख रुपैयाँसम्म लगानी गर्छौं । यो एउटा व्यक्तिमा गरिने ठूलो लगानी हो । हामीले कर्मचारीलाई तलब मात्रै दिएका हुँदैनौँ, उहाँहरूको सीप विकासमा पनि निरन्तर लगानी गरिरहेका हुन्छौँ ।
त्यससँगै आवश्यक जगेडा पुर्जा उपलब्ध गराउने, पुन:बिक्रीमा सहयोग गर्ने, ग्राहकलाई आवश्यक पर्ने अन्य सुविधा विस्तार गर्ने र सेवा प्रणालीलाई प्रभावकारी बनाउने काम पनि हाम्रो जिम्मेवारीभित्र पर्छ ।
हामीका लागि ‘सर्भिस महत्त्वपूर्ण छ’ भनेर भन्नु मात्रै पर्याप्त हुँदैन । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ । हामीले यही सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौँ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको बजार निकै बढेको छ । अहिले त नेपालको अटोमोबाइल बजारको झन्डै ८० प्रतिशत हिस्सा विद्युतीय सवारीसाधनले
ओगटिसकेको भन्ने चर्चा पनि छ । यस्तो अवस्थामा तपाईंहरू कसरी प्रतिस्पर्धा गरिरहनुभएको छ ? अन्य कम्पनीको तुलनामा लक्ष्मी ग्रुपका गाडी र सेवाको विशेषता के हो ?
सबैभन्दा पहिले एउटा कुरा स्पष्ट भन्न चाहन्छु । यो मेरो व्यक्तिगत धारणा हो । यसलाई लक्ष्मी ग्रुपको आधिकारिक धारणा भनेर बुझ्नु हुँदैन । नेपालमा अहिले व्यापक रूपमा ‘अटोमोबाइल बजारको ८० प्रतिशत हिस्सा विद्युतीय सवारीसाधनले ओगटिसकेको छ’ भन्ने प्रचार भइरहेको छ । तर म यो तथ्यलाई त्यसरी स्वीकार गर्दिनँ ।
किनभने, अहिले हामीले गणना गर्ने तथ्याङ्क चारपाङ्ग्रे निजी सवारी साधनको मात्रै हो । उदाहरणका लागि हुन्डाई, बीवाईडी, बीएमडब्लु, टाटा लगायतका ब्रान्डका निजी गाडीलाई आधार बनाएर ‘८० प्रतिशत विद्युतीय सवारी साधन भइसके’ भन्ने निष्कर्ष निकालिन्छ ।
तर पेट्रोल र डिजेल खपत गर्ने साधन चारपाङ्ग्रे निजी गाडी मात्रै होइनन् । मोटरसाइकल, स्कुटर, ट्रक, बस, ट्र्याक्टर, एक्स्काभेटर, निर्माण उपकरण तथा अन्य व्यावसायिक सवारीसाधन पनि त्यत्तिकै छन् । यदि देशको पेट्रोलियम खपत घटाउने उद्देश्य हो भने यी सबैलाई समग्र रूपमा हेर्नुपर्छ ।
नेपालमा वर्षभरि चारपाङ्ग्रे निजी सवारीसाधन करिब १५–१६ हजार बिक्री हुन्छन् । त्यसमा विद्युतीय गाडीको हिस्सा करिब ८० प्रतिशत हुन सक्छ । तर समग्रमा हेर्दा वर्षमा करिब चार लाख हाराहारी पेट्रोलियमबाट चल्ने सवारीसाधन थपिन्छन् । त्यसको तुलनामा १०–१२ हजार विद्युतीय गाडीलाई मात्रै आधार बनाएर ‘नेपाल ८० प्रतिशत विद्युतीय भइसक्यो’ भन्नु यथार्थपरक हुँदैन ।
यदि हामीले चारपाङ्ग्रे निजी सवारीको सन्दर्भमा मात्रै ८० प्रतिशत भनिरहेका छौँ भने त्यो स्पष्ट रूपमा भन्नुपर्छ । तर समग्र अटोमोबाइल क्षेत्र नै ८० प्रतिशत विद्युतीय भइसकेको छ भन्नु सही हुँदैन ।
मेरो विचारमा नेपालको समग्र यातायात प्रणालीलाई आधार मान्ने हो भने विद्युतीय सवारीसाधनको वास्तविक पहुँच ८० प्रतिशत होइन, करिब ६ देखि ७ प्रतिशत हाराहारी मात्रै हुन सक्छ । त्यसैले तथ्याङ्क प्रस्तुत गर्दा कुन क्षेत्रको आधारमा विश्लेषण गरिएको हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । त्यसपछि मात्रै हामी सही निष्कर्षमा पुग्न सक्छौँ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनप्रति आम उपभोक्ताको आकर्षण बढ्दै गएको छ । तर सरकारले विद्युतीय सवारी साधनमाथि करको भार थप्दा त्यसले यो क्षेत्रलाई निरुत्साहित गरेको हो कि भन्ने बहस पनि सुरु भएको छ। तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
मेरो बुझाइमा सरकारको उद्देश्य र नियत सकारात्मक नै देखिन्छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउने र दीर्घकालीन रूपमा मुलुकलाई लाभ हुने नीति बनाउने सरकारको प्रयास गलत होइन । त्यसैले सरकारको नियत माथि प्रश्न उठाउने ठाउँ छैन ।
तर राम्रो उद्देश्य हुँदाहुँदै पनि कतिपय नीतिको कार्यान्वयनमा कमजोरी देखिएको छ । हामीले सरकारको आलोचना गर्न खोजेका होइनौँ, बरु सरोकारवालाका रूपमा आफ्नो सुझाव र अनुभव साझा गर्न खोजेका हौँ । सरकारले यस्ता विषयमा सम्बन्धित पक्षको सहभागिता अझ बढी गराउन सके नीति अझ प्रभावकारी बन्न सक्छ । मेरो अनुभवमा, नीति निर्माण अघि त्यससँग प्रत्यक्ष सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल हुन सकेको देखिँदैन । त्यसको एउटा उदाहरण हालैको कालो सिसा सम्बन्धी निर्णय हो । सरकारले आफ्नो दृष्टिकोणबाट कुनै कारणले यस्तो निर्णय गरेको हुन सक्छ । तर त्यस निर्णयले आयातकर्ता, उत्पादक, व्यवसायी र उपभोक्तामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल भएको देखिएन ।
आज विश्वका अधिकांश सवारी उत्पादक कम्पनीहरूले पूर्ण रूपमा अपारदर्शी होइन, तर निश्चित मापदण्डभित्रका हल्का रङ्गीन (टिन्टेड) सिसा प्रयोग गरिरहेका छन् । यस्ता सिसाले घामको किरणबाट सुरक्षा गर्ने, गाडी भित्रको तापक्रम नियन्त्रण गर्न सहयोग गर्ने तथा बिरामी वा विशेष अवस्थाका यात्रुलाई सहजता प्रदान गर्ने जस्ता विभिन्न फाइदा पनि दिन्छन् ।
यस्ता सकारात्मक पक्ष हुँदाहुँदै यदि कुनै एउटा समस्यालाई मात्रै आधार बनाएर सबै प्रकारका टिन्टेड सिसा माथि प्रतिबन्ध लगाइन्छ भने त्यसले अर्को प्रकारको समस्या पनि सिर्जना गर्न सक्छ ।
उदाहरणका लागि, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध केही सवारीसाधनहरू कारखानाबाटै निश्चित मापदण्ड अनुसारका टिन्टेड सिसासहित उत्पादन हुन्छन् । जस्तै टेस्ला । यदि त्यस्ता सवारी नेपालमा दर्ता नै हुन नसक्ने अवस्था आयो भने त्यसले आयातकर्ता, व्यवसायी र उपभोक्ता सबैलाई असर गर्छ । त्यसको प्रभाव सम्बन्धित पक्षलाई नै सबैभन्दा बढी थाहा हुन्छ ।
त्यसैले कुनै पनि नीति लागू गर्नु अघि त्यसले पार्ने प्रभावबारे सरोकारवालासँग विस्तृत छलफल हुनुपर्छ । सरकारले निर्णयपछि के–कस्ता प्रभाव पर्छ भन्ने कुरा सम्बन्धित पक्षसँग बसेर सुन्नुपर्छ, र सरोकारवालाले पनि आफ्ना अनुभव र तथ्यका आधारमा सरकारलाई बुझाउनुपर्छ ।
यदि सरकारले स्पष्ट रूपमा कुनै निर्णय किन आवश्यक भयो, त्यसबाट समाजलाई के फाइदा हुन्छ, वा यसले कुन समस्या समाधान गर्छ भन्ने आधार प्रस्तुत गर्यो भने व्यवसायी र सम्बन्धित पक्षले पनि त्यसलाई सहज रूपमा स्वीकार गर्न सक्छन् ।
मेरो भनाइ यति मात्र हो—नीति बनाउँदा सरकारको उद्देश्य राम्रो भए पनि त्यसको प्रभाव मूल्याङ्कन र सरोकारवालासँगको पर्याप्त छलफल अझ आवश्यक हुन्छ । त्यसो भयो भने नीति अझ प्रभावकारी, व्यवहारिक र सबै पक्षका लागि स्वीकार्य बन्न सक्छ ।
नेपालमा निजी सवारीसाधन आवश्यकता हो कि विलासिता भन्ने बहस पनि छ । बाहिरबाट गाडी आयात गर्दा निकै महँगो पर्छ । नेपालमै गाडी एसेम्बल गर्न सकियो भने उपभोक्तालाई पनि फाइदा हुने तर्क छ । तर सरकारले नेपालमै एसेम्बल हुने गाडीलाई थप असहज बनाएको जस्तो देखिन्छ । तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
नेपालमै सवारीसाधन एसेम्बल गर्ने विषयमा सरकारले गहिरो अध्ययन र सरोकारवालासँग व्यापक छलफल गर्नुपर्ने आवश्यकता देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई पहिले केही सहुलियत थियो, तर पछिल्लो नीतिमा त्यस्ता सहुलियत हटाएर थप करको व्यवस्था गरिएको छ । यसले स्वदेशमै उत्पादन वा एसेम्बल गर्नुभन्दा भारत वा चीनबाट तयार गाडी आयात गर्नु नै तुलनात्मक रूपमा सहज र लाभदायक बनाइदिएको छ ।
मेरो विचारमा यो सरकारको नियतभन्दा पनि पर्याप्त परामर्श र प्राविधिक सुझावको अभावका कारण भएको हुन सक्छ । यदि नीति निर्माणअघि सम्बन्धित व्यवसायी, उद्योगी र अन्य सरोकारवालालाई एउटै ठाउँमा राखेर विस्तृत छलफल गरिएको भए थप व्यवहारिक निर्णय आउन सक्थ्यो ।
नेपालमा गाडी आवश्यकता हो कि विलासिता भन्ने बहस आफ्नो ठाउँमा छ । तर एउटा यथार्थ के हो भने नेपालमा सवारीसाधनमा लाग्ने कर संसारकै उच्चमध्ये पर्छ । कतिपय अवस्थामा भन्सार, अन्त:शुल्क र मूल्य अभिवृद्धि कर जोड्दा करको भार दुई सयदेखि तीन सय प्रतिशतसम्म पुग्ने अवस्था छ ।
यही कारण पछिल्लो समय नेपालमै सवारी साधन एसेम्बल गर्नुपर्छ भन्ने धारणा बलियो बन्दै गएको छ । यदि स्वदेशमै एसेम्बल गर्न सकियो भने त्यसबाट उपभोक्ताले पनि लाभ पाउँछन्, व्यवसायीलाई पनि फाइदा हुन्छ र अन्तत: त्यसले देशको अर्थतन्त्रलाई समेत सकारात्मक योगदान दिन्छ ।
तर पछिल्ला नीतिहरूले त्यस्तो उद्योगलाई थप प्रोत्साहन दिनुको सट्टा केही असहज बनाएका छन् । परिणामस्वरूप अहिले धेरै कम्पनीले नेपालमै एसेम्बल गर्नेभन्दा विदेशबाट तयार गाडी आयात गर्ने बाटो रोजिरहेका छन् ।
विश्वभर अहिले स्थानीय रूपमा मूल्य अभिवृद्धि गर्ने, अर्थात् आफ्नै देशमा एसेम्बल वा उत्पादन सुरु गर्ने प्रवृत्ति बढिरहेको छ । नेपालमा चार पांग्रे सवारीसाधन एसेम्बल गर्ने प्रयास गर्ने पहिलो कम्पनी हामी हौँ । धेरैले यसमा तत्काल नाफाभन्दा घाटा देख्नुभएको छ । तर हाम्रो सोच फरक छ । देशमै औद्योगिक आधार निर्माण गर्न कसैले न कसैले सुरुवात गर्नैपर्छ । सुरुवात नै नभए भविष्यमा हामी कहिल्यै उत्पादनतर्फ अघि बढ्न सक्दैनौँ ।
पहिले हामी मलेसिया र इन्डोनेसियाको उदाहरण दिन्थ्यौँ । आज ती देशहरू एसेम्बलबाट धेरै माथि पुगिसकेका छन् । अहिले हाम्रो अवस्थाको तुलना पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कासँग गर्न सकिन्छ । ती देशहरूले पनि एसेम्बलबाटै यात्रा सुरु गरेका थिए । आज त्यहाँ यो उद्योग उल्लेखनीय रूपमा विकास भइसकेको छ । हामीले पनि त्यही बाटो समात्नुपर्छ ।
एसेम्बल भन्नुको अर्थ सबै कुरा नेपालमै उत्पादन गर्नु होइन । मुख्य पुर्जा विदेशबाट आउँछन्, नेपालमा तिनलाई जोडिन्छ, परीक्षण गरिन्छ र गुणस्तर सुनिश्चित गरिन्छ । तर यही प्रक्रियाबाट क्रमश: सीप, अनुभव र औद्योगिक क्षमता विकास हुँदै जान्छ । पाँच–दस वर्ष एसेम्बलको अनुभव भएपछि मात्रै पूर्ण उत्पादनतर्फ अघि बढ्न सकिन्छ ।
यसका लागि ठूलो लगानी आवश्यक पर्छ । दुई–तीन अर्ब रुपैयाँसम्मको पूर्वाधार, आधुनिक मेसिन, रोबोटिक उपकरण, प्रक्रिया व्यवस्थापन, गुणस्तर परीक्षण, प्राविधिक इन्जिनियरिङ र नियमित अडिटको व्यवस्था गर्नुपर्छ । एउटा गाडीका साना–साना पुर्जा जोडेर अन्तर्राष्ट्रिय कम्पनीको गुणस्तर बराबरको उत्पादन तयार गर्नु अत्यन्त जटिल प्रक्रिया हो ।
त्यसैले सरकारले सुरुवाती चरणमा केही सहुलियत दिनु आवश्यक हुन्छ । यसबाट तत्काल केही राजस्व कम हुन सक्छ, तर दीर्घकालीन रूपमा त्यसको लाभ धेरै ठूलो हुन्छ । उद्योग स्थापना भएपछि रोजगारी सिर्जना हुन्छ, कर्मचारीले आम्दानी गर्छन्, त्यसबाट आयकर उठ्छ, व्यापार बढ्छ, सहायक उद्योग विकास हुन्छन् र राज्यले अन्य विभिन्न माध्यमबाट थप राजस्व प्राप्त गर्छ ।
मेरो बुझाइमा सरकारले कहिलेकाहीँ व्यवसायीको दृष्टिकोणबाट सोचिदिन्छ । विदेशबाट तयार गाडी ल्याउँदा सस्तो पर्छ भने नेपालमै किन एसेम्बल गर्ने ? भन्ने सोच सरकारको हुन सक्छ । तर त्यो निर्णय व्यवसायीले आफैँ गर्ने विषय हो । यदि नेपालमै उद्योग स्थापना गर्दा पनि दीर्घकालीन सम्भावना देखिन्छ भने व्यवसायी त्यसमा लगानी गर्न तयार हुन्छ । सरकारको भूमिका भने त्यसलाई सहज वातावरण उपलब्ध गराउने हुनुपर्छ ।
यदि सरकारले दीर्घकालीन औद्योगिकीकरण, रोजगारी र स्थानीय मूल्य अभिवृद्धिलाई प्राथमिकतामा राखेर नीति बनायो भने नेपालमा सवारीसाधन एसेम्बल उद्योगको भविष्य निकै उज्ज्वल हुन सक्छ भन्ने मेरो विश्वास छ ।
अन्तिममा, यदि आज कुनै ग्राहक गाडी किन्ने तयारीमा हुनुहुन्छ भने उहाँलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ रु कस्तो आधारमा गाडी छनोट गर्नुपर्छ ?
गाडी किन्नु भनेको धेरैजसो नेपालीका लागि घरपछि दोस्रो ठूलो लगानी हो । त्यसैले सामाजिक सञ्जाल, मोबाइलमा देखिने विज्ञापन वा इन्फ्लुएन्सरका भिडियो हेरेर मात्रै निर्णय गर्न म सुझाव दिन्नँ ।
गाडी एक–दुई वर्षका लागि होइन, चार–पाँच वर्ष वा त्योभन्दा बढी समय प्रयोग गर्ने सम्पत्ति हो । त्यसैले गाडीको डिजाइन वा प्रचार भन्दा पनि बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता, मर्मत–सम्भार र कम्पनीको सेवा प्रणालीलाई प्राथमिकता दिनुपर्छ ।
म त ग्राहकलाई पहिले शोरुमभन्दा पनि सर्भिस सेन्टर जान सुझाव दिन्छु । त्यहाँ गएर कुन ब्रान्डका गाडीमा कस्ता समस्या आउँछन्, ती समस्या समाधान गर्न कति सहज छ र कम्पनीको सेवा कस्तो छ भन्ने बुझ्नुपर्छ । त्यसपछि मात्रै शोरुममा गएर आफ्नो आवश्यकता, बजेट र प्रयोगअनुसार उपयुक्त गाडी छनोट गर्नु बुद्धिमानी हुन्छ ।
अन्तत: राम्रो गाडी भनेको धेरै प्रचार भएको होइन, दीर्घकालसम्म भरपर्दो सेवा दिने गाडी हो ।