काठमाडौँ । रसुवागढी भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोडेर गरिएका टिप्पणीप्रति अर्थमन्त्रीको सचिवालयले खेद व्यक्त गरेको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा रसुवागढी र मुस्ताङको कोरोला नाकासँग सम्बन्धित घटनाबारे छानबिन तथा अनुसन्धान प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको जाँचपास भएको भनिएको विषयमा अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको सिफारिसका आधारमा जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाई भन्सार विभाग तानिएको छ। थप अनुसन्धान भइरहेको जनाइएको छ।
कोरोला नाकाबाट जाँचपास भएका सवारीसाधनका विषयमा पनि मन्त्रालयको छानबिन टोलीले स्थलगत अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू सम्मिलित टोली अनुसन्धानमा खटिएको बताइएको छ।
प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान अघि बढाइएकोले विस्तृत विवरण आउन बाँकी रहेको समेत जनाइएको छ।

छानबिन चलिरहेकै बेला माननीय अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने,बजेटलाई विवादमा पारिदिने जस्ता उद्देश्य बोकेर भएका प्रचारबाजी तथा मिडिया ट्रायलप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

कार्यमा संलग्न केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केही माथि कानुनी उपचार खोजिने चरणमा छ ।

अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा विचार बनाउँदै गर्दा एक पटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोध्न, अर्थतन्त्र, बजेट, भन्सार जस्ता प्राविधिक विषय र यसको प्रक्रियामा सत्य जानकारी राखिदिन वा तथ्यले पुष्टी गरेर मात्रै समाचार सामाग्री बनाउन समेत आग्रह गरेको छ ।