काठमाडौं । एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ’ईबीएल टच २४’मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा’ सञ्चालनमा ल्याएको छ ।
हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटुपी) सम्झौतासँगै बैंकले त्यस्तो सेवा सुरु गरेको हो । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (रियल टाइम) रकम आदानप्रदान गर्न सक्नेछन् ।
नयाँ व्यवस्थापनअनुरुप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्, जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन् ।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमाबिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणालीअन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् ।
साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन् ।
