काठमाडौं । पाँच सातादेखि जारी फिफा विश्वकप २०२६ अब उपाधि भिडन्तमा पुगेको छ।
आइतबार अमेरिकाको न्युयोर्क–न्यु जर्सीस्थित स्टेडियममा हुने फाइनलमा युरोपियन च्याम्पियन स्पेन र साविक विश्वविजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। एकातिर स्पेन १६ वर्षपछि दोस्रो विश्वकप जित्ने लक्ष्यमा छ भने अर्कोतर्फ अर्जेन्टिना लगातार दोस्रो पटक विश्व च्याम्पियन बनेर नयाँ इतिहास रच्ने दाउमा छ।
फाइनल अघि खेलसँगै विभिन्न रोचक विषयले पनि विश्व फुटबल समर्थकको ध्यान तानेका छन्।
सबैभन्दा धेरै चर्चामा रहेको विषय लियोनल मेसी र स्पेनका युवा स्टार लामिन यामलको भेट हो। सन् २००७ मा बार्सिलोनाको सामाजिक अभियानका क्रममा खिचिएको एउटा तस्बिर अहिले फेरि भाइरल बनेको छ, जसमा युवा मेसीले शिशु यामललाई नुहाइरहेका देखिन्छन्। करिब दुई दशकपछि उनीहरू विश्वकप फाइनलमा प्रतिद्वन्द्वीका रूपमा मैदानमा उत्रिन लागेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फाइनल प्रत्यक्ष हेर्न स्टेडियम पुग्ने भएका छन्। उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम छ। यसपटक विश्व च्याम्पियन टोलीले ट्रफीसँगै पहिलोपटक विशेष ‘च्याम्पियनसिप रिङ’ समेत प्राप्त गर्नेछ।
यता अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेई भने फाइनल हेर्न स्टेडियम नजाने भएका छन्। अन्धविश्वासका कारण उनले यसअघिका खेलहरूझैँ राष्ट्रपतिको सरकारी निवासमै बसेर उही ज्याकेट लगाई खेल हेर्ने निर्णय गरेको बताइएको छ।
फाइनल अघि मौसम पनि चर्चा बनेको छ। क्यानडामा लागेको डढेलोको धुवाँका कारण न्युयोर्क र न्यु जर्सी क्षेत्रमा केही दिन वायु प्रदूषण बढे पनि खेलअघि मौसममा सुधार आउने अनुमान गरिएको छ। फाइनल हेर्न स्टेडियममा ८० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ भने हजारौँ समर्थकले सार्वजनिक स्थलबाट खेल हेर्ने तयारी गरेका छन्।
यसपटकको फाइनल आर्थिक रूपमा पनि ऐतिहासिक बनेको छ। टिकटको मूल्य अमेरिकाको खेल इतिहासमै सबैभन्दा महँगो मानिएको छ। सबैभन्दा सस्तो टिकटको मूल्य पनि ७ हजार ५ सय अमेरिकी डलरभन्दा बढी पुगेको छ भने औसत टिकट मूल्य ११ हजार अमेरिकी डलर नाघेको बताइएको छ।
विश्वकप इतिहासमै पहिलोपटक फाइनलको हाफटाइममा विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ। अन्तर्राष्ट्रिय चर्चित कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमका कारण विश्राम समय सामान्यभन्दा लामो हुने अपेक्षा गरिएको छ। खेलअघि विशेष उद्घाटन समारोह पनि आयोजना गरिनेछ।
यस संस्करणमा पुरस्कार राशिले पनि नयाँ कीर्तिमान बनाएको छ। फिफाले कुल ७२ करोड ७० लाख अमेरिकी डलर पुरस्कारका लागि छुट्याएको छ, जुन अघिल्लो विश्वकपको तुलनामा उल्लेखनीय रूपमा बढी हो। विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर पाउनेछ।
विश्वकप ट्रफी यसपटक पनि फ्रान्सेली लक्जरी ब्रान्ड लुई भिटोनले तयार पारेको विशेष बाकसमा मैदानमा ल्याइनेछ। व्यक्तिगत पुरस्कारतर्फ पनि प्रतिस्पर्धा रोचक बनेको छ। लियोनल मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् भने किलियन एम्बाप्पे दोस्रो स्थानमा छन्।
गोल्डेन बल, गोल्डेन ग्लोभ, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्डको पनि फाइनलपछि घोषणा हुनेछ।
फाइनल खेल सञ्चालनको जिम्मेवारी स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचले पाएका छन्। उनलाई सहायक रेफ्री तथा अन्य अफिसियलहरूको टोलीले साथ दिनेछ।
विश्व फुटबल समर्थकहरूका लागि उपाधिको प्रतिस्पर्धासँगै यी सबै पक्षले पनि फाइनललाई अझ विशेष र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।