काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद उपाध्यायले आजदेखि कार्यभार सम्हालेका छन् ।
उपाध्यायलाई गत चैत १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गरेको थियो भने हिजो शनिबार विशेष समारोहमार्फत पद तथा गोपनीयताको सपथ ग्रहण गराएको थियो ।
निवर्तमान सीईओ गोविन्द प्रसाद ढकालको विदाई र नवनियुक्त सीईओ उपाध्यायको सपथका लागि बैंकले हिजो बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा विशेष समारोह आयोजना गरेको थियो ।
समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, गरिमा म्युचुअल फण्डका कोष सुपरीवेक्षकहरू, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरू तथा अन्य कर्मचारीहरू समेतको उपस्थिति थियो ।
बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत मसान्तमा समाप्त भएसँगै उपाध्यायलाई सपथ ग्रहण गराउँदै कार्यभार हस्तान्तरण गरिएको हो ।

सपथ ग्रहणपश्चात नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाइमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे भने निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालज्यूले विकास बैंकलाई यो उचाइसम्म पुर्याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए ।