काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसअघि पनि सन् २०२२, २०२४ र २०२५ मा युरो मनी अवार्ड फर एक्सलेन्सबाट बेष्ट बैंकको उपाधि पाएको थियो ।
सातै प्रदेश र ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ ।
बैंकले देशभित्र मात्र होइन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS