काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुरु गरेको डिजिटल प्लेटफर्मले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई नेपालको इतिहास, संस्कृति, परम्परा, कला र सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए।
उनले नेपाली कालिगढहरूको सीप, मौलिक कला र परम्परागत डिजाइनलाई आधुनिक प्रविधि, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके ‘मेड इन नेपाल’ गहनाले विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने धारणा राखे।
विश्व बजारमा सुनको मूल्य निरन्तर बढिरहेको उल्लेख गर्दै अग्रवालले त्यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव व्यवसायमा परेको बताए। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी तथा तिनबाट निर्मित गहनाको बिक्रीमा थप ०.५ प्रतिशत कर वृद्धि गरिएकाले वैधानिक व्यवसायमा थप दबाब सिर्जना हुने उनको भनाइ थियो। उनले करको दायरा विस्तार, प्रभावकारी कर प्रशासन तथा अवैध कारोबार नियन्त्रणमा सरकारको विशेष ध्यान जानुपर्ने बताए।
अग्रवालले दक्ष कालिगढको अभाव, विदेश पलायन, सुरक्षा जोखिम तथा सुन तस्करीलाई व्यवसायका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै व्यवसायी, बैंक, बीमा कम्पनी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिँदै उनले व्यवसायमैत्री नीति, स्थिर कर प्रणाली, कालिगढ संरक्षण तथा नेपाली हस्तकलाको प्रवद्र्धनका लागि चेम्बर निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा अध्यक्ष अग्रवालले महासंघको नयाँ वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भसमेत गरेका थिए। महासंघका अध्यक्ष किसान सुनारले परम्परागत सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार महासंघ, प्रदेश र जिल्ला संघलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गरी सदस्यहरूको विवरण, सूचना प्रवाह, प्रशासनिक कार्य तथा तथ्यांक व्यवस्थापनलाई प्रविधिमार्फत सहज बनाइनेछ।
उनले प्रत्येक जिल्ला र प्रदेश संघको आफ्नै वेबसाइट सञ्चालन हुने, सदस्यता नवीकरण, परिचयपत्र, प्रमाणपत्रलगायत प्रशासनिक सेवा डिजिटल माध्यमबाट उपलब्ध हुने तथा एसएमएसमार्फत सूचना प्रवाह गर्दा लाग्ने खर्चसमेत उल्लेखनीय रूपमा घट्ने बताए।
मोबाइल एपमार्फत सदस्यहरूले किनबेच हुने सामान तथा सेवाको विवरण पोस्ट गर्न, व्यवसायीबीच प्रत्यक्ष व्यापारिक सम्पर्क स्थापित गर्न, सुन, चाँदी तथा अमेरिकी डलरको विगतका मूल्यहरूको विश्लेषण गर्न तथा केही सेकेन्डमै अनुमानित बिल तयार गरी ग्राहकको व्हाट्सएपमा पठाउन सक्ने सुविधा उपलब्ध हुने महासंघले जनाएको छ।