काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको जनाएको छ।
आयोगले डा. सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो। अनुसन्धानबाट उक्त अवधिमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको अख्तियारको दाबी छ।
तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, सेयर तथा बीमा, विदेश भ्रमण, अध्ययन खर्च, सुन खरिद र बैंक मौज्दातलगायत विभिन्न शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको आयोगले जनाएको छ।
यसरी वैधानिक आयभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च तथा लगानी भएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले सोही रकमलाई गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिका रूपमा दाबी गरेको हो।

आयोगले डा. सापकोटाविरुद्ध बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग गरेको छ। साथै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।

अख्तियारले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई समेत प्रतिवादी कायम गरेको छ। आयोगका अनुसार उनको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी बनाइएको हो।