काठमाडौं । सिरहा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा उनीहरूविरुद्ध ८ लाख २ हजार ८७८ बिगो माग दाबी गर्दै आरोप पत्र दायर गरेको हो।
आरोपीहरूमा कुसियैतसहित, औरही गाउँपालिकाका तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र औरही गाउँपालिका–४ का प्रगतिशिल कृषक समूहका अध्यक्ष राम भजन यादव रहेका छन्।
माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा उनीहरूले अनियमितता गरेको आरोप लगाइएको छ।
अख्तियारका अनुसार २०७९ असार १३ गते १५ लाखको सम्झौता भए पनि झुटा बिल भरपाई बनाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पशु अधिकृत र लेखापालले कृषक समूहका अध्यक्ष यादवलाई ८ लाख २ हजार ८७८ रूपैयाँ बढी भुक्तानी दिएका थिए।