नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरूलाई सुविधा दिन नहुने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था नहुने बताए । राज्यले उनीहरूलाई मान–सम्मान गर्नु ठीक हुने तर सुविधा भने दिन नहुने उनले बताए ।
उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैँले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीति–नियमलाई मान्नुपर्छ,’ उनले भने ।
मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।
स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरूका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बीमा योजनामा जोडिने बताए ।
FACEBOOK COMMENTS