काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि भारतको हरियाणा जान लागेको नेपाली पुरुष कबड्डी टोलीलाई बुधबार बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई प्रशिक्षणको पूर्ण सदुपयोग गर्दै उत्कृष्ट तयारी गर्न आग्रह गरे। उनले एसियाली खेलकुदमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन शुभकामना पनि व्यक्त गरेका थिए ।
हरियाणा जाने टोलीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् ।
टोलीका मुख्य प्रशिक्षक विष्णु दत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल तथा व्यवस्थापक पर्शुराम ओली रहेका छन् ।