काठमाडौं । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय र दिगो पूर्वाधार निर्माणका लागि अनुगमन कार्यलाई तीव्रता दिएको छ । सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि कामपाको अनुगमन समितिले पूर्वाधार अनुगमन तीव्र बनाएको हो ।
महानगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले अनुगमनका क्रममा निर्माण सामग्री, निर्माण शैलीसहित तोकिएका मापदण्ड जाँच तथा स्थानीय, लाभग्राहीसँग निर्माण सन्तुष्टिका विषयमा कुराकानी गर्ने गरिएको जानकारी दिए ।
वडा नं २१ इनाखा गणेशदेखि इनाखा नारायणसम्मको सडक र वडा नं ११ को निर्माणाधीन कार्यालय भवनको अनुगमनका क्रममा उनले यस्तो बताए । उनले भने, “सार्वजनिक भौतिक संरचनाको निर्माण गर्दा गुणस्तर र मापदण्डको पालनासँगै यसको पहुँचका बारेमा ध्यान दिन आवश्यक छ । सडकलाई सवारीसाधन तथा पैदल यात्राबाहेक अनधिकृत व्यापारसहितका उपयोगलाई निरुत्साहित गर्नुपर्छ । निर्बाध र सुरक्षित रूपमा सडकमा पुग्ने तथा हिँड्ने वातावरणका लागि डिजाइनदेखि नै ध्यान दिन जरुरी छ ।”
वडा नं ११ को कार्यालय भवन बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा निर्माण भइरहेको छ । विसं २०८० मङ्सिर २८ गते महानगर दिवसको अवसर पारेर निर्माण कार्य थालनी गरिएको थियो ।
हाल भवनको संरचनाको काम भइसकेको र रङ्गरोगनलगायत बिजुली, इन्टरनेट जडानको काम बाँकी रहेको वडाध्यक्ष हिरालाल तण्डुकारले बताए । सकेसम्म पुसभित्र कार्यसम्पन्न गरीे माघको दोस्रो सातादेखि भवनबाट सेवा सुरु गर्ने योजना रहेको उहाँले बताए ।
भवन निर्माणका लागि करिब रु ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित रु पाँच करोड सात लाख २७ हजार कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । विसं २०८१ मङ्सिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मङ्सिर १२ गते कार्यादेश दिइएको हो ।
इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार ११ आना जमिनमा सात हजार दुई सय ५० स्क्वायरफिट क्षेत्रफलमा निर्माण हुने चार तलाको भवन बागदरबारकै शैली र उचाइको छ ।
FACEBOOK COMMENTS