मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन् ।
नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागद्वारा शुक्रबार आयोजित ‘वर्तमान आर्थिक अवस्था–समस्या समाधान’ विषयक छलफल कार्यक्रममा उनले पूर्वाधार निर्माणबाट मुलुकमा औद्योगिक उत्पादन वृद्धि भई विकासको गतिले तीव्रता लिने विचार व्यक्त गरे ।
उनले उद्यमीहरुलाई उद्योग स्थापना, भन्सार, कृषिसम्बन्धी समस्या समाधानका लागि संसद्मा आवाज उठाएको जानकारी दिए ।
उद्योगपतिको लगानी संरक्षण, उद्योगको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक सुझाव दिन आग्रह गर्दै उनले यस सम्बन्धमा सत्तापक्षसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ओलीले राजनीति सेवा भएको चर्चा गर्दै जनताको जीवनस्तर वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लाने उद्देश्यले कार्य गरिरहेको बताए । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले उद्योगपतिको मनोबल उच्च बनाउने कार्य गरिरहेको बताए ।

कार्यक्रममा विभागका अध्यक्ष पूर्वराज्यमन्त्री मोती दुगड, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्घठन मोरङका अध्यक्ष राकेश सुराना, किशोर प्रधान उद्यमीहरू विकास बेगवानी, महेश जाजु, ताराचन्द खतानलगायतले भ्रष्टाचार नियन्त्रण गरी उद्योगलाई राज्यले संरक्षकको भूमिका निभाउनेतर्फ पहल गर्नुपर्ने सुझाव दिए ।
