काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीका महाप्रबन्धक इन्द्र प्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणलाई आईपीओ जारी गर्ने जनाएको छ।
तुँदी पावरले म्याग्दीस्थित राहुगंगा नदीमा निर्माण गरेका ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजनाबाट २०८२ साउन २० गतेदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको जनाएको छ।
आयोजनाबाट उत्पादित विद्युत राहुघाट जलविद्युत आयोजनाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर बिक्री भइरहेको कम्पनीले जनाएको छ।