काठमाडौँ । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले नेपालको अग्रणी ट्राभल कम्पनी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आफ्नो आधिकारिक अफलाइन जनरल सेल्स एजेन्ट (जिएसए) को रूपमा नियुक्त गरेको छ।
यो नियुक्तिसँगै सोसाइटी इन्टरनेशनलले लुफ्थान्सा ग्रुपअन्तर्गतका तीन प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स—लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेशनल एयरलाइन्स र अस्ट्रियन एयरलाइन्सको नेपालमा प्रतिनिधित्व गर्नेछ।
सम्झौताअनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको रणनीतिक साझेदारको रूपमा काम गर्नेछ। यसले नवीन प्रविधिमा आधारित बिक्री र मार्केटिङ रणनीतिहरू मार्फत ग्रुपको बजार विस्तारमा सहयोग पुर्याउनुका साथै अफलाइन वितरण प्रणालीलाई प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गर्नेछ।
लुफ्थान्सा ग्रुप, भारतकी जेनेरल सेल्स म्यानेजर संगिता शर्माले यो साझेदारीबारे उत्साह व्यक्त गर्दै भनिन्, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई हाम्रो नयाँ जिएसएको रूपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौँ। यो सहकार्यले नेपालको बढ्दो बजारमा हाम्रो पहुँच विस्तार गर्न र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ। हामी दक्षिण एसियाली बजारमा बलियो उपस्थिति कायम गर्न र हाम्रा ग्राहकहरूका लागि कनेक्टिभिटी तथा सेवा सुधार गर्न प्रतिबद्ध छौँ।
आर।आर। ग्रुप अफ कम्पनीअन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रबी चन्द्र सिंहले यो नियुक्तिलाई विशेष सम्मानको रूपमा लिएको बताए। उनले भने, ‘हाम्रो स्थानीय विज्ञता र सञ्जालको पहिचानसँगै लुफ्थान्सा ग्रुपको अन्तर्राष्ट्रिय बजार हिस्सा विस्तार गर्ने हाम्रो प्रतिबद्धताको यो प्रमाण हो। हामी यात्रुहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्न तत्पर छौँ।’
लुफ्थान्सा ग्रुपको विश्वव्यापी सञ्जाल र समृद्ध इतिहासलाई जोड दिँदै सिंहले थपे, ‘यो साझेदारीले नेपालको पर्यटन क्षेत्रलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि थप यात्रा विकल्प प्रदान गर्न मद्दत गर्नेछ।” लुफ्थान्सा ग्रुपको टिकट बिक्री पुनः सञ्चालनमा आउनुले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
FACEBOOK COMMENTS