वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिवार्य वित्तीय प्रतिवेदन २०२५ अनुसार उनले गत वर्ष क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यापारबाट एक
अर्ब डलरभन्दा बढी कमाएका छन् ।
सार्वजनिक गरिएको ९२७ पानाको विस्तृत विवरणमा ट्रम्पले आफ्ना छोराहरू र उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्स’ बाट ५० करोड डलरभन्दा बढी आम्दानी गरेको उल्लेख छ ।
ट्रम्प र उनका परिवारका सदस्यहरूले यस कम्पनीको खुद नाफाको ७५ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्छन् । यसैगरी, राष्ट्रपति पदको शपथ लिनु तीन दिन अगाडि बजारमा ल्याइएको ‘ट्रम्प मेमे कोइन’ को रोयल्टीबाट मात्रै उनले ६३ करोड ५० लाख डलर आम्दानी गरेको देखाएका छन्, यद्यपि यो डिजिटल मुद्राको मूल्य सार्वजनिक भएयता निकै घटेको छ ।
कुनै समय क्रिप्टोकरेन्सीको कडा आलोचना गर्दै बिटकोइनलाई ‘ठगी’ र ‘आउन लागेको विनाश’ को संज्ञा दिएका ट्रम्पको यो आम्दानी उनको अघिल्लो वर्षको तुलनामा निकै बढी हो । अघिल्लो वर्ष ट्रम्पले कुल ६० करोड डलर आम्दानी भएको विवरण बुझाएका थिए ।
यस वर्ष उनले घरजग्गा व्यवसाय (रियल स्टेट), ट्रम्प ब्राण्डका बाइबल, घडी र अन्य सामग्रीको बिक्रीबाट पनि थप लाखौँ डलर कमाएका छन् । वित्तीय विवरणमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित डिजिटल वालेटहरूबाट भएका अन्य साना प्रकृतिका लाखौँ डलरका कारोबारहरू पनि देखाइएका छन् ।

यसका साथै प्रथम महिला मेलानिया ट्रम्पको आम्दानी पनि प्रतिवेदनमा समेटिएको छ । उनले गत वर्ष सार्वजनिक भएको आफ्नो वृत्तचित्र (डकुमेन्ट्री) सँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट एक करोड ७ लाख डलर कमाएकी छन् । त्यस्तै, इन्टरनेटमा बिक्री हुने डिजिटल तस्बिर अर्थात् एनएफटीको बिक्री सम्झौताबाट उनले थप ६० लाख डलर आम्दानी गरेको विवरणमा उल्लेख छ ।
राष्ट्रपति पदमा रहेर व्यक्तिगत व्यापार र नाफा कमाएको भन्दै आलोचना सुरु भए पनि ह्वाइट हाउसले भने ट्रम्पले राष्ट्रपतिको पदबाट फाइदा उठाएको कुरालाई ठाडै अस्वीकार गरेको छ ।
ह्वाइट हाउसकी उप(प्रेस सचिव अन्ना केलीले यसमा कुनै पनि नैतिक प्रश्न नरहेको दाबी गर्दै ट्रम्पले गर्वका साथ अमेरिकालाई ‘क्रिप्टोको विश्व राजधानी’ बनाएको बताएकी छन् ।केलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न त राष्ट्रपति न त उनको परिवार नै कहिल्यै स्वार्थको द्वन्द्वमा संलग्न भएको छ वा हुनेछ ।
राष्ट्रपति ट्रम्प र उनको प्रशासनका सबै कदमहरू अमेरिकी जनताको सर्वोत्तम हितका लागि चालिएका हुन् र यसको विपरीत प्रचार गर्ने कथित पत्रकारहरूले विगत एक दशकदेखि ड्यामोक्र्याट र स्थापित सञ्चारमाध्यमले चलाउँदै आएको पुरानो र झुटो भाष्यलाई नै दोहोर्याइरहेका छन् ।’