काठमाडौं । माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।
बैंकको साउन ४ गते बसेको संचालक समितिको बैंठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढिको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ ।
अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रकै एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।
वित्तिय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तहको उपाधि हासिल गरेका छन् ।
साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
अर्याल तथा जमरकटेल दुवै आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रुपमा चिनिन्छन् ।