काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ७६) ले आयोजना गरेको ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीले असोज २३ गते शुक्रबार लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि, सचेत तथा जिम्मेवार लगानी संस्कृतिको विकास र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा कम्पनीले वित्तीय साक्षरता, सूचित लगानी, लगानीकर्ता संरक्षण तथा दिगो आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको थियो। कार्यक्रममार्फत लगानीकर्तालाई पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न, लगानीका अवसर तथा जोखिम बुझ्न र तथ्यमा आधारित लगानी निर्णय लिन प्रेरित गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा बचत, लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय योजनाको महत्वबारे सचेतना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो। साथै, हल्ला, अपुष्ट सूचना तथा भावनात्मक निर्णयका आधारमा नभई पर्याप्त अध्ययन, विश्वसनीय सूचना र विश्लेषणका आधारमा लगानी गर्नुपर्ने आवश्यकताबारे जानकारी गराइएको थियो।
त्यस्तै, लगानीकर्ताको अधिकार तथा हित संरक्षण, लगानीसम्बन्धी जोखिमको पहिचान र व्यवस्थापन तथा जिम्मेवार लगानी अभ्यासका विषयलाई समेत प्राथमिकतामा राखिएको थियो। पूँजी बजारमा सहभागी हुँदा आवश्यक ज्ञान, अनुशासन र सावधानी अपनाउनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले लगानीसम्बन्धी सही ज्ञान र जिम्मेवार व्यवहारले व्यक्तिगत वित्तीय अवस्था सुदृढ बनाउनुका साथै समग्र पूँजी बजारको विकास र दिगो आर्थिक वृद्धिमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

‘सचेत लगानीकर्ता, सुदृढ भविष्य’ भन्ने मूल सन्देशसहित सम्पन्न कार्यक्रमले लगानीकर्तामा ज्ञान, अनुशासन, लगानीका अवसरको पहिचान तथा आर्थिक समृद्धिप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आगामी दिनमा पनि लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि, पारदर्शी लगानी अभ्यासको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै जिम्मेवार तथा सुदृढ पूँजी बजार निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।