काठमाडौं । मक्र्योर काठमाडौं सुकेधारा हाइट्सले वातावरणमैत्री पर्यटन तथा दिगो सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ। होटलका अनुसार यो प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो होटल मक्र्योर काठमाडौं सुकधारा हाइट्स बनेको छ।
दिगो पर्यटनलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय वातावरणीय शिक्षा प्रतिष्ठान (एफईई) अन्तर्गत सञ्चालन हुने ग्रीन की कार्यक्रमले वातावरण संरक्षण र जिम्मेवार पर्यटन अभ्यासमा निर्धारित मापदण्ड पूरा गर्ने होटल तथा पर्यटन व्यवसायलाई प्रमाणपत्र प्रदान गर्छ।
होटलले दिगोपनासम्बन्धी १३ वटा क्षेत्रको स्वतन्त्र मूल्याङ्कनपछि प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। मूल्याङ्कनमा ऊर्जा तथा पानीको प्रभावकारी उपयोग, फोहोर व्यवस्थापन, जिम्मेवार खाद्य सामग्रीको छनोट, कर्मचारीको तालिम र स्थानीय समुदायसँगको सहकार्यलगायतका विषय समेटिएका थिए।
यो प्रमाणपत्र प्राप्त गरेसँगै मक्र्योर काठमाडौं सुकेधारा हाइट्स ८० भन्दा बढी देशमा ग्रीन की प्रमाणपत्र प्राप्त होटल तथा पर्यटन व्यवसायको अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको छ। प्रमाणपत्रले होटलको दैनिक सञ्चालनमा वातावरणमैत्री अभ्यासलाई व्यवस्थित रूपमा लागू गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
ग्रीन की प्रमाणपत्र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ। यसले प्रमाणपत्र प्राप्त गर्ने होटललाई वातावरणीय अभ्यासको नियमित समीक्षा र सुधार गर्न प्रोत्साहित गर्छ।

प्रमाणपत्र प्राप्त गरेको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत फ्रान्स्वाज पुइग–इन्जा, होटलका अध्यक्ष देशबन्धु बस्नेत, महाप्रबन्धक अभिषेक पास्रिचा तथा होटलका कर्मचारी सहभागी थिए।

नेपालका लागि फ्रान्सकी राजदूत पुइग–इन्जाले ग्रीन की प्रमाणपत्र प्राप्त गरेकोमा होटललाई बधाई दिँदै यस उपलब्धिले नेपालका अन्य होटल तथा पर्यटन व्यवसायलाई पनि दिगो पर्यटन अभ्यास अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

होटलका महाप्रबन्धक अभिषेक पास्रिचाले प्रमाणपत्र प्राप्त गर्नु सम्पूर्ण टोलीका लागि गर्वको विषय भएको बताए। उनले यसलाई वातावरणीय दिगोपनाको यात्राको अन्त्य नभई सुरुआतका रूपमा लिएको उल्लेख गर्दै होटलका अभ्यासलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
मक्र्योर अन्तर्राष्ट्रिय होटल समूह एकोरअन्तर्गतको ब्रान्ड हो। सन् १९७३ मा स्थापना भएको मक्र्योरका विश्वका ६० भन्दा बढी देशमा एक हजारभन्दा बढी होटल सञ्चालनमा छन्।