काठमाडौं । सानिमा क्यापिटलले निष्काशन गरेको सानिमा इक्विटी फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएको बन्दमुखि योजनाको इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण सोभन्दा अगावै निष्काशन बन्द गर्न लागिएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड १० वर्षे योजना हो।
निष्काशन गरिएको कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्। फण्डमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।
