काठमाडौँ । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ ।
देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो ।
बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रुपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्यूनतम १५ लाख रुपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ । बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपैयाँको कर्जा समेत प्रदान गर्नेछ ।
नबिल बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए ।
उनले विदेशबाट नेपालीहरुले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरूलाई रोजगारी र उद्यमशीलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्नसक्ने बताए । उनले प्रवासी नेपालीहरूले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण नविल बैंकले योजना ल्याएको बताए । उनले दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले धेरै नाफा कमाउने उद्देश्य नल्याएको बताए । उनले विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षाले यो योजना अघि सारेको बताए ।
बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई १५ देखि १० करोडसम्मको सहुलियतपूर्ण कर्जा दिने योजना ल्याएको बताए । उनले विदेशमा गएका नेपाली श्रमिकहरूले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने दाबी गरे । उनले औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याएको बताए ।
उनले नविल बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने बताए ।
बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रुपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।
सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठुलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रुपैयाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १।५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS