काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालमा नेपाल सवारी प्रदुषण (युरो–६) मापदण्ड चरणबद्धरूपमा लागू गर्नुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष ध्रुव थापाको नेतृत्वमामा गएको प्रतिनिधिमण्डलले बन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवलाई भेट गरी नाडाले सो कुरामा जोड दिएको हो । परिस्कृत प्रणाली लागू गर्न तत्काल प्राविधिकलगायत आवश्यक पूर्वाधार नभएको जानकारी गराउँदै नाडाले चरणबद्धरूपमा लागू गर्दै जान आफूहरू तयार रहेको जानकारी मन्त्री यादवलाई गराएका छन् ।
मन्त्रीसँगको छलफलका क्रममा अध्यक्ष थापाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो–६ लागू गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागू गर्दै जानुपर्नेमा जोड दिए । अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागू गर्ने व्यवस्थाका लागि मन्त्री रायसँग नाडाले अनुरोध समेत गरेको छ ।
त्यस्तै नाडाको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठ, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, राजश्व अनुसन्धान विभागका महानिर्देश प्रकाश पौडेल र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग पनि भेट गरी सम्बन्धित र समसामयिक विषयमा छलफल गरेको जनाइएको छ ।
FACEBOOK COMMENTS