काठमाडौं । नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल र सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम)को संयुक्त प्रतिनिधिमण्डलले अर्थ, भौतिक पूर्वाधार र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेटघाट गरी विभिन्न विषयमा छलफल गरेको छ ।
संयुक्त प्रतिनिधिमण्डलले गत बुधबार अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग अटोमोबाइल क्षेत्रबारे विभिन्न छलफल गरेको हो ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरूका सम्बन्धमा छलफल गरेको छ । यसै क्रममा सियामका सहसभापति यसपाल साँच्चरको नेतृत्वमा काठमाडौंमा आइपुगेको २५ सदस्यीय प्रतिनिधि मण्डलले पनि अर्थमन्त्री पौडेलसँग भेट गरेको हो ।
भेटमा नेपाल र भारतबीच नेपालमा अटोमोबाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने लगायतका विभिन्न विषयहरूका सम्बन्धमा विशेष छलफल गरिएको नाडाले जनाएको छ । नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र माननीय उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको नाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सो प्रतिनिधि मण्डलमा धेरै जसो ठूला–ठूला ओरिजनल इक्वेपमेन्ट म्यानुफ्याक्चर्स (ओईएमएस) को उपस्थितिसहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपांग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो ।
सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो ।
उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेतालगायतलाई सरकारको दूरदृष्टि अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, सङ्कलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सिप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सृजना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरूमा छलफल गरेको थियो ।
नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साउथ एशिएन अटोमोटिभ फोरम (एसएएएफ) लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् । नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबीचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ ।
उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एसोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम को–ओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS