काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी तयारी थालिएको छ ।
नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।
“सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ”, उनले भने, “सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ ।”
लबदष्
िनागढुंगा–नौबिसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।

आयोजनाका निर्देशक नेपालले नागढुंगा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको बताए । आयोजनाले नागढुंगा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ ।

‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगद लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार लगायतको जिम्मेवारी पाएको छ ।