काठमाडौं । सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल रन एन्ड वाक’ गरिएको छ । नागढुंगा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवद्र्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा गरिएको हो ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले यसबारे सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि र जानकारी गराउने उद्देश्यले ‘नागढुंगा टनेल रन एन्ड वाक’ प्रवद्र्धनात्मक कार्यक्रम गरिएको जानकारी दिए । नागढुंगा–नौबिसे सुरुङमार्ग दुई हजार ६८८ मिटर लम्बाइको छ ।
सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भयो ।
आयोजना निर्देशक नेपालले यही साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइने बताए ।
आयोजनाका अनुसार, काठमाडौं प्रवेश तथा बाहिरिने नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपांग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन् ।
आयोजनाका निर्देशक नेपालले नागढुंगा–नौबिसे सडकखण्डबाट भित्रने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । यो सुरुङमार्ग हुँदै दुईपांग्रे सवारीसाधन भने चलाउन नपाइने आयोजनाले जनाएको छ । रासस