काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालिएको छ ।
दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष तयारी थालेको हो ।
अन्य दिनभन्दा बिदाका दिनमा बढी अवलोकनकर्ता आउने अनुमान गरेको नाइमाले मूलत: पार्किङका लागि विशेष व्यवस्था मिलाएको जनाएको छ ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि पार्किङ स्थलको विशेष व्यवस्थापन गरिएको जानकारी दिए।’’सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भएर पनि पार्किङका लागि स्पेस अभाव भइरहेको थियो,’’उनले भने, ’’अवलोकनकर्ताको उल्लेख्य सहभागिता भएका कारण शनिबार र आइतबारका लागि हामीले पार्किङका लागि विशेष तयारी गरेका छौँ ।’’
एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो सुरु हुनुभन्दा अघिदेखि नै भृकुटीमण्डपको गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ ।

भक्तपुर पुरानो ठिमीकी नवीना नकर्मीले पनि मेला स्थलमा आफूले अनुमान गरेभन्दा बढी मानिस पुगेको बताइन् । ’’म विगतका अटो मेलाहरूमा पनि आउने गरेको थिएँ,’’ उनले भनिन्, ’’तर यति धेरै भीड अहिलेसम्म देखेको थिइनँ ।’’
सवारीसाधनहरूको ब्रान्ड, फिचर र सुविधाका विषयमा राम्रो जानकारी राख्ने उनले अटो मेला अवलोकनमा आफ्नो विशेष रुचि रहेको उनले बताइन् । तेस्रो दिनसम्ममा १ लाख ८ हजारभन्दा बढीले मेलाको अवलोकन गरिसकेका छन् । उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले अवलोकन गरेकोमा आज ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प धेरै भएकाले मेला स्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ ।
दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ ।नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्त्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरूले बताएका छन् ।
अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।
मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।