काठमाडौं। नेको इन्स्योरेन्सले १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ।
कम्पनीले सोमबार प्रकाशित सूचनामार्फत संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा शेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको हो।
कम्पनीका अनुसार एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि सञ्चालक समितिको २०८३ असार ३१ गते बसेको बैठकले बिक्री प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो।
नेपाल बीमा प्राधिकरणद्वारा जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकाले कम्पनीले सम्पूर्ण संस्थापक शेयरधनीलाई सूचना प्रकाशित गरेको जनाएको छ।
कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म आफूले खरिद गर्न चाहेको कित्ता संख्या र प्रतिकित्ता प्रस्तावित मूल्य उल्लेख गरी कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ।
कम्पनीका अनुसार तोकिएको अवधिभित्र कुनै निवेदन प्राप्त नभएमा वा बिक्रीमा रहेको कुल शेयरभन्दा कम परिमाणका लागि मात्र आवेदन परेमा, प्रचलित कानुन तथा निर्देशिकाबमोजिम बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
संस्थापक सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम योग्य हुनुपर्ने कम्पनीले जनाएको छ। यससम्बन्धी थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरिएको छ।