काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूलाई ग्यास वितरण गर्ने भएको छ ।
बाढीबाट अत्यन्तै प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका नागरिकहरूलाई संघले मानवीय सहायता स्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको हो ।
गत भदौ १० गते बुधबार बिहानको बाढीले पुर्याएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै संघले यो सहयोग नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ ।
संघका अध्यक्ष दीवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै भनिएको छ, ‘यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै संघको तर्फबाट यो राहत घोषणा गरिएको हो ।’
संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र उपचार र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका सबै संयन्त्रलाई जुट्न संघले विशेष अपील समेत गरेको छ ।