काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ।
नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाइमाले पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डलाई कुल ४९ वटा स्टल बाँडफाँड गरेको जनाएको छ। जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको छ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले एक्स्पोको महत्व र विश्वसनीयता थप पुष्टि गरेको बताइन्। उनले एक्स्पोलाई केवल सवारी प्रदर्शनीमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ मोबिलिटी प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागिता उद्योग क्षेत्रको विश्वास र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए। उनले यस संस्करणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।



त्यसैगरी नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको जानकारी दिए।

आयोजकका अनुसार एक्स्पोमा विद्युतीय तथा इन्धनचालित सवारी साधन, मोबिलिटी समाधान, अत्याधुनिक प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछ। साथै नयाँ सवारी साधन सार्वजनिकरण, अत्याधुनिक प्रविधि प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू पनि आयोजना हुनेछन्।
एक्स्पोमा बिवाईडी , हुन्डाई, किया, टोयोटा, टाटा, एमजी लगायत प्रमुख चार पांग्रे ब्रान्डहरू तथा होन्डा, सुजुकी, रोयल एनफील्ड, केटीएम, टीभीएस लगायतका दुई पांग्रे ब्रान्डहरूको सहभागिता रहनेछ।
