काठमाडौं । नेपालीहरू रोजगारी, अध्ययन, पर्यटन र व्यापारका लागि विदेश जाने क्रम बढ्दै जाँदा उनीहरूको पहुँच विश्वका झन्डै सबै भूभागसम्म पुगेको देखिएको छ ।
अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ मा नेपाली नागरिकहरू विश्वका २३१ वटा देश तथा गन्तव्यमा पुगेका छन् । नेपालबाट यति धेरै नेपाली संसारका कुनाकाप्चा सम्म कसरी पुगे ? उनीहरू रोजगारीका लागि गएका हुन्, घुम्नका लागि वा अन्य कुनै प्रयोजनले ? अध्यागमन विभागको तथ्याङ्कले यस्तै प्रश्न जन्माएको छ ।
अध्यागमन विभागको ‘वार्षिक पुस्तिका २०८३’ मा समेटिएको विवरण अनुसार अघिल्ला वर्षहरूमा पनि नेपाली नागरिकको विदेश यात्रा २०० भन्दा बढी देश तथा गन्तव्य सम्म फैलिएको देखिन्छ । सन् २०२४ मा २२१, २०२३ मा २२७, २०२२ मा २२३ र २०२१ मा २१० वटा गन्तव्यमा नेपाली पुगेका थिए ।
यसको अर्थ प्रत्येक गन्तव्यमा ठूलो संख्यामा नेपाली पुगेका छन् भन्ने होइन । कतिपय देशमा एक–दुई जना नेपाली पुगेको अभिलेखले पनि नेपालको विदेश यात्राको नक्सालाई विश्वव्यापी बनाएको छ ।
एक जना पुगेको देश पनि तथ्याङ्कमा
अध्यागमन विभागको तथ्याङ्कमा केही यस्ता गन्तव्य पनि छन्, जहाँ सन् २०२५ मा एक जना नेपाली मात्रै पुगेको देखिन्छ । युनाइटेड स्टेट्स भर्जिन आइल्यान्डस्, नाउरु, ग्वाटेमाला, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्स र सेन्ट पिअर एन्ड मिकेलनमा एक–एक जना नेपाली पुगेको विवरण छ । तीमध्ये केहीको फर्किएको अभिलेख समेत देखिँदैन ।
त्यस्तै सेन्ट लुसिया, एल साल्भाडोर, मोनाको र वेस्टर्न सहाराजस्ता गन्तव्यमा एक–एक जना नेपाली पुगेर फर्किएको विवरण अध्यागमन विभागसँग छ । यस्ता तथ्याङ्कले नेपालबाट हुने अन्तर्राष्ट्रिय आवागमन अब परम्परागत श्रम गन्तव्यमा मात्र सीमित नरहेको देखाउँछ ।
२३१ देश भन्नाले के बुझ्ने ?
अध्यागमन विभागको तथ्याङ्कमा ‘देश’ भनेर उल्लेख गरिएका सबै गन्तव्य सार्वभौम राष्ट्र मात्र होइनन् । चीन अन्तर्गतका हङ्कङ र मकाउ जस्ता विशेष प्रशासनिक क्षेत्र तथा संयुक्त राष्ट्रसङ्घसँग सम्बन्धित केही गन्तव्यलाई पनि छुट्टै श्रेणीमा राखिएको छ ।
सन् २०२५ मा करिब १७ लाख नेपाली विदेश गएको अध्यागमन तथ्याङ्कले देखाएको छ । त्यसमध्ये करिब १४ लाख ८८ हजार जना फर्किएका छन् । विदेश यात्राको सबै भन्दा ठूलो हिस्सा भने रोजगारीसँग जोडिएको छ । विभागका अनुसार करिब ५० प्रतिशत नेपाली वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । त्यसपछि पर्यटन तथा तीर्थयात्राको हिस्सा करिब साढे १३ प्रतिशत र अध्ययनका लागि जानेको हिस्सा झन्डै ८ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै नेपाली कहाँ पुगे ?
सन् २०२५ मा नेपालीहरूको सबैभन्दा ठूलो गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) देखिएको छ । त्यहाँ झन्डै तीन लाख नेपाली पुगेका छन् । त्यसपछि कतार, साउदी अरेबिया, भारत, जापान, अस्ट्रेलिया, मलेसिया, बेलायत, कुवेत, अमेरिका, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, ओमान र हङ्कङ नेपालीका प्रमुख गन्तव्य बनेका छन् ।
यीमध्ये खाडी मुलुकहरू मुख्यत: वैदेशिक रोजगारीसँग जोडिएका छन् भने जापान, अस्ट्रेलिया, बेलायत, अमेरिका र दक्षिण कोरियामा रोजगारीसँगै अध्ययन तथा अन्य प्रयोजनका लागि हुने आवागमन पनि उल्लेख्य छ ।
युवा तथा रोजगार सम्बन्धी सरकारी निकायका अनुसार नेपालले १८७ वटा देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । नेपाली कामदार दुई देशबीच भएको श्रम सम्झौता मार्फत, म्यानपावर कम्पनी मार्फत वा व्यक्तिगत पहलमा रोजगारी खोजेर पनि विदेश जाने गरेका छन् । यसका अतिरिक्त केही नेपाली अन्य प्रयोजनका भिसामा विदेश पुगेपछि त्यहीँ रोजगारी प्राप्त गरी आफ्नो बसाइको प्रकृति परिवर्तन गर्ने गरेको पनि जानकारहरू बताउँछन् ।
एउटा देशबाट अर्को देशमा पुग्ने क्रम
विश्वका साना वा नेपालमा कम चर्चामा रहेका मुलुकमा नेपाली कसरी पुग्छन् भन्ने प्रश्न अझ रोचक छ । जानकारहरूका अनुसार नेपाल सरकारले रोजगारीका लागि खुला गरेका मुलुकमा पुगेका नेपाली पछि अर्को मुलुक तर्फ जाने सम्भावना पनि हुन्छ । त्यसैगरी सुरुमा पर्यटन, अध्ययन, पारिवारिक भेटघाट वा अन्य भिसामा गएको व्यक्ति पछि रोजगारीमा जोडिन सक्छ । कतिपय अवस्थामा विदेशमै रोजगारी खोजेर काम गर्ने र नेपाल फर्किएपछि आवश्यक प्रक्रिया पूरा गरी पुन: सोही मुलुक जाने अवस्था पनि हुन्छ ।
श्रम स्वीकृति किन महत्वपूर्ण ?
विदेशमा रोजगारीका लागि जाने नेपालीका लागि श्रम स्वीकृति सरकारी प्रक्रिया पूरा गर्ने कागज मात्र होइन, यससँग कामदारको सुरक्षा र राज्यको अभिलेखसमेत जोडिएको हुन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेश गएमा कामदारलाई विभिन्न सामाजिक सुरक्षा, बिमा तथा कल्याणकारी सुविधा प्राप्त गर्न सहज हुन्छ ।
वैदेशिक रोजगारीका क्रममा दुर्घटना भएमा बिमा सुविधा, मृत्यु भएमा शव नेपाल ल्याउने प्रक्रिया, परिवारलाई उपलब्ध हुने सहयोग, उद्धार तथा कानुनी सहायता जस्ता सुविधा प्राप्त गर्न पनि श्रम स्वीकृतिको अभिलेख महत्वपूर्ण हुन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु वर्ष म्यानपावर कम्पनी मार्फत विदेश गएर समस्यामा परेका २७१ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ । यसले विदेश जानेको संख्या मात्र होइन, उनीहरू कुन देशमा र कुन हैसियतमा छन् भन्ने अभिलेख राख्नु राज्यका लागि किन आवश्यक छ भन्ने देखाउँछ ।
‘विश्वभर नेपाली’ हुनुको अर्को पाटो
नेपालीहरू विश्वका धेरैभन्दा धेरै गन्तव्यमा पुग्नु नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार भएको संकेतज स्तो देखिए पनि यसको अर्को पाटो पनि छ । विदेश जाने ठूलो हिस्सा रोजगारीका लागि हुनु नेपालभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अवस्थासँग पनि जोडिन्छ । लाखौँ नेपाली श्रम बेच्न विदेश पुगिरहेका छन् भने उनीहरूले पठाउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ ।
त्यसैले २३१ गन्तव्यमा नेपाली पुगेको तथ्याङ्कलाई नेपालीको विश्व भ्रमणका रूपमा मात्र हेर्नुभन्दा नेपालको श्रम, शिक्षा, अर्थतन्त्र र बसाइँसराइको बदलिँदो स्वरूपको ऐनाका रूपमा हेर्नुपर्ने जानकारहरूको तर्क छ ।
नेपाली विदेश जाने कारण एउटै छैन । कोही रोजगारीका लागि खाडी मुलुक पुगिरहेका छन् । कोही जापान, अस्ट्रेलिया वा बेलायतमा अध्ययनसँगै करियर निर्माणको प्रयासमा छन् । कोही तीर्थयात्रा र पर्यटनका लागि विभिन्न देश पुगिरहेका छन् । व्यापार, पारिवारिक भेटघाट, कूटनीतिक तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित काम र अन्य व्यक्तिगत प्रयोजनले पनि नेपालीलाई विश्वका विभिन्न कुनामा पुर्याइरहेको छ ।
जानकारहरूका अनुसार विश्वका करिब डेढ सय देशमा नेपालीले प्रवेश अघि नै भिसा लिनुपर्छ । करिब तीन दर्जन देशले अनअराइभल भिसा र १० भन्दा बढी देशले नि:शुल्क प्रवेशको सुविधा दिने गरेका छन् ।
यसको अर्थ नेपाली राहदानी बोकेर विश्व भ्रमण सहज छ भन्ने होइन । बरु आवश्यक कागजात, भिसा, श्रम स्वीकृति र अन्य कानुनी प्रक्रिया पूरा गर्दै नेपालीहरू संसारका अत्यन्त टाढा गन्तव्यसम्म पुगिरहेका छन् । नेपालबाट बाहिर जाने नेपालीको संख्या मात्र बढिरहेको छैन, उनीहरूको गन्तव्य पनि विस्तार भइरहेको छ । यही विस्तारले आज नेपालीलाई विश्वका २३१ ‘देश’ तथा गन्तव्यसम्म पुर्याएको छ — कहिले रोजगारीका लागि, कहिले अध्ययनका लागि, कहिले घुम्न र कहिले जीवनको नयाँ अवसर खोज्दै ।