काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आफ्नो वेबसाइटबाट डाटा चोरीको प्रयास भईरहेको जनाएको छ ।
विभिन्न समुहहरुले विभिन्न कोड प्रयोग गरी आफ्नो वेबसाइटबाट अनाधिकृत रुपमा ठुलो संख्यामा डाटा तान्ने प्रयास भईरहेको नेप्सेले जनाएको हो ।
यसको कारण वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारणलाई डाटा हेर्न असहज भएको नेप्सेले जनाएको छ । यहि कारण नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने, निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्या भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार कोड प्रयोग गरी अनाधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा नै अवरुद्द गर्ने प्रयाससम्म भएको छ । यी कार्य रोक्न हाललाई प्राविधिक उपाय अपनाएको तर यो क्रम नरोकिए आगामी दिनमा कानुनी उपाय खोज्ने नेप्सेले चेतावनी दिएको छ ।
सूचनामा भनिएको छ ‘आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कार्वाहीको प्रक्रियामा जान वाध्य हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’
हाल नेप्सेले आधिकारिक रुपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको जनाएको छ। सिडीएस बाहेक अन्य सबैले नेप्सेको डाटा गैर कानुनी रुपमा विभिन्न मध्यमबाट तानिरहेका छन्। नेप्से स्रोतका अनुसार यसरी अनाधिकृत रुपमा डाटा तान्ने प्रयास गर्नेमा मिडिया, बैंक तथा वित्तीय संस्था, पोर्टफोलियो सेवा प्रदायक, डाटा सर्भिस प्रदायकलगायत रहेका छन् ।
FACEBOOK COMMENTS